हर्कलाई मनिषले भनेः पटकपटक बालहठ नगर्नुस्, नियम पढ्नुस्

काठमाण्डु टुडे २०८३ असार ३ गते १४:१० मा प्रकाशित

काठमाण्डू, २ असार– प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथिको छलफल जारी छ । आज (बुधबार)को बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयसँग सम्बन्धित मन्त्रालयमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको थियो ।

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनका लागि उद्योगमन्त्री गौरी कुमारी संसद्को रोष्ट्रममा पुगेकी थिइन । उनले सांसदहरूको प्रश्नको जवाफ दिइरहेकी थिइन् । सोही बीचमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङ उठे र आफ्नो स्पष्टीकरण पुनः दोहोर्‍याए ।

उनलाई सभामुख डीपी अर्यालले स्पष्टीकरणमाथिको स्पष्टीकरण नहुने भन्दै ध्यानाकर्षण गराए । तर, सांसद राईले उठेर अवरोध जनाइरहे । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनिष झाले नियमापत्ति जनाए । उनले प्रतिनिधिसभामा नियमावलीको ५४– ५५ नम्बरमा प्रश्नोत्तरको विषय उल्लेख गरे ।

‘पटकपटक वादविवाद गर्ने, मेरो प्रश्नको जवाफ आएन भन्ने, ५४ नम्बरमा उत्तर दिन अस्वीकार गर्न सकिने अधिकार पनि उल्लेख गरिएको छ । माननीय मन्त्रीज्यूले मेरो उत्तर यही हो भन्न पाउनहुन्छ,’ झाले भने ।

साथै, उनले सांसद साम्पाङलाई पटकपटक बालहठ नगर्न अनुरोध गरे । ‘म सम्बन्धित माननीयज्यूलाई पटकपटक बालहठ नगर्न पनि आग्रह गर्छु । नियम कानुनको कुरा गर्दै हुनुहुन्थ्यो, नियम त स्पष्ट लेखिएकै छ, नियम पढ्नुस्’, सांसद झाले आग्रह गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us