श्रम संस्कृति पार्टीको निरन्तर विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाण्डु टुडे २०८३ असार ३ गते १४:५३ मा प्रकाशित

काठमाण्डू, २ असार– आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दल श्रम संस्कृति पार्टीको निरन्तर विरोध गरेपछि बैठक स्थगित भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल भइरहेको थियो । छलफलका क्रममा मन्त्रीहरूले जवाफ दिइरहेका थिए ।

सो बीचमा श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्कराज राई साम्पाङले मन्त्रीले जवाफ दिइसकेपछि पनि स्पष्टीकरण सोध्ने प्रयास गरेका थिए । तर, उनलाई सभामुख डोलप्रसाद अर्यालले रोके ।

यद्यपि श्रम संस्कृति पार्टीका सांसदहरूले भने वेल घेराउ गरे । त्यसपछि सभामुख अर्यालले कर्तव्य पालना गर्न अनुरोध गरे । सभामुख अर्यालले भने, ‘सभामुखको आदेशको पालना गर्नुपर्ने सबै माननीय सदस्यहरूको कर्तव्य हो ।

कर्तव्य पालना गर्नका लागि श्रम संस्कृति पार्टीका सबै माननीयहरूलाई सचेत गराउँदछु ।’ सभामुख अर्यालले पटकपटक आसनग्रहणका लागि अनुरोध गरे ।

यद्यपि उनीहरूले अवरोध नरोकेपछि सभामुख अर्यालले बैठक स्थगित गरेका हुन् । सभामुख अर्यालका अनुसार, बैठक आजै १५ मिनेटका लागि स्थगित गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us