अष्ट्रियाको विजयी सुरुआत, जोर्डन ३–१ ले पराजित

काठमाण्डु टुडे २०८३ असार ३ गते १३:३३ मा प्रकाशित

काठमाण्डू, २ असार- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को खेलमा अष्ट्रियाले जोर्डनलाई ३–१ ले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ।

दुवै टोलीबीच भएको प्रतिस्पर्धात्मक खेलमा अष्ट्रियाले पहिलो हाफमै अग्रता बनाएको थियो । खेलको २० औँ मिनेटमा रोमानो स्मिदले गोल गर्दै अष्ट्रियालाई १–० को अग्रता दिलाए । त्यसपछि पहिलो हाफमा थप गोल हुन नसक्दा अष्ट्रिया एक गोलको अग्रतासहित विश्राममा गएको थियो।

दोस्रो हाफको सुरुआतमै जोर्डनले खेलमा पुनरागमन गर्‍यो । ५०औँ मिनेटमा यार्जब अलराबले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

बराबरीपछि दुवै टोलीले अग्रता लिन प्रयास गरे पनि निर्णायक मोड ७६ औँ मिनेटमा आयो, जब जोर्डनका यार्जब अलराबबाट आत्मघाती गोल हुन पुग्यो । उक्त गोलसँगै अष्ट्रियाले २–१ को अग्रता बनायो।

खेलको अन्तिम समयमा अष्ट्रियाले पेनाल्टीको अवसर पायो, जसलाई मार्को अर्नाउटोभिचले सदुपयोग गर्दै टोलीको तेस्रो गोल गरे । त्यससँगै अष्ट्रियाले ३–१ को सहज जित दर्ता गर्‍यो ।

यस जितसँगै अष्ट्रियाले समूह चरणमा महत्वपूर्ण तीन अंक जोड्दै आफ्नो विश्वकप यात्रा सकारात्मक ढंगले सुरु गरेको छ। पराजित जोर्डन भने पहिलो खेलबाट अंकविहीन बनेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us