महिला सांसदसँग सभामुख मुस्काउँदा साइबर बुलिङ गरिएको भन्दै एमाले सांसदको आपत्ति

काठमाण्डु टुडे २०८३ असार ३ गते १२:४२ मा प्रकाशित

काठमाण्डू, २ असार– एमालेकी सांसद यशोदाकुमारी बरालले बढ्दो साइबर बुलिङप्रति सरकारको ध्यानाकर्षण गराएकी छन ।

आज (बुधबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सभामुखसँग महिला सांसदहरू सामान्य रूपमा हाँसेको विषयलाई लिएर सामाजिक सञ्जालमा भइरहेको प्रचारप्रति आपत्ति समेत व्यक्त गरिन् । उनले भनिन्, ‘देशमा अहिले साइबर बुलिङ भइरहेको छ ।

९० प्रतिशत महिला सांसदहरूलाई सभामुखसँग जोडेर एउटा सामान्य हाँसोको कारणले पनि, हामी सांसद नै लज्जित भएका छौँ । समाज कहाँ जाँदैछ ? ध्यानाकर्षण गराउन चाहन्छु ।’ उनले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटिसकेको भए पनि नेपालमा इन्धनको मूल्य नघटाइएको भन्दै सरकारको ध्यानाकर्षण समेत गराइन । उनले संसद् र राजनीतिक गतिविधिमा दोहोरो मापदण्ड देखिएको आरोप लगाइन् ।

प्रधानमन्त्री वा मन्त्रीहरूले विवादास्पद अभिव्यक्ति दिँदा समर्थन हुने तर विपक्षीले नियमसम्बन्धी प्रश्न उठाउँदा आलोचना हुने अवस्था देखिएको भन्दै यसलाई सुशासनभन्दा छाडातन्त्र जस्तो भएको टिप्पणी गरिन् ।

तर, सांसद बरालले ‘छाडातन्त्र’ शब्द प्रयोग गरेपछि इन्दिरा राना मगरले आपत्ति जनाइन् । उनले उक्त शब्द संसदीय मर्यादाविपरीत भएको भन्दै संसद्को रेकर्डबाट हटाउन माग गरिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us