प्रधानमन्त्रीको अभिव्यक्तिबारे आज पनि विपक्षीले खोजे जवाफ

काठमाण्डु टुडे २०८३ असार २ गते १२:३४ मा प्रकाशित

काठमाण्डू, २ असार– आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा पनि सांसदहरुले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दिएको सीमासम्बन्धी विषयको अभिव्यक्तिको विरोध गर्दै जवाफ मागेका छन् ।

बैठकमा प्रधानमन्त्रीको धारणा रेकर्डबाट हटाउन सांसदहरुले माग गरेका छन । प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद प्रमेश हमालले प्रधानमन्त्री जेठ १७ गतेको प्रतिनिधि सभा बैठकमा दिएको अभिव्यक्तिसँग सम्बन्धित विषयमा सरकारसँग स्पष्ट जवाफ माग गरेका छन् ।

नेपालले भारतको भूमि मिचेको छ भन्ने विषय उठेपछि आएको प्रधानमन्त्रीको भनाइबारे संसद्मा चर्चा गर्दै उनले सरकारको धारणा स्पष्ट हुनुपर्ने बताएका हुन् । सांसद हमालले प्रधानमन्त्रीको अभिव्यक्ति निरन्तर आइरहेको उल्लेख गर्दै केवल विरोध जनाएर मात्र नहुने र त्यसपछि पुनः उही शैली दोहोरिने अवस्था अन्त्य हुनुपर्ने बताए ।

उनले परराष्ट्रमन्त्रीलाई लक्षित गर्दै हाल उठिरहेको त्रिदेशीय सीमासम्बन्धी विषयमा चीनसँग कुरा भएको छ कि छैन भन्नेबारे स्पष्ट जानकारी दिन अनुरोध समेत गरे ।

उनले नेपालको सार्वभौमिकता र सीमा सुरक्षासँग सम्बन्धित विभिन्न घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै सुस्तामा भारतीय नागरिक प्रवेश गरेको, दार्चुलाको नेपाली आकाशमा हेलिकप्टर प्रवेश गरेको तथा नेपाली चिया निर्यातमा अवरोध सिर्जना भएको विषय समेत उठाए ।

कांग्रेसकी रेखाकुमारी यादवले विगतमा केटाकेटीलाई ललिपप देखाएजस्तो परराष्ट्रमन्त्रीले बोलेर नहुने बताइन् । उनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे मन्त्रीले जवाफ दिएर नहुने समेत बताइन् । एमालेकी सांसद टुकाभद्रा हमालले पनि प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us