जनतासँगको सम्बन्ध सुधारका लागि एमालेले अघि सार्यो ‘६ ज’ को नीति

काठमाण्डु टुडे २०८३ जेठ ३१ गते १४:४० मा प्रकाशित

काठमाण्डू, ३१ जेठ– एमालेले जनतासँगको सम्बन्ध सुधारका लागि ६ नीति अघि सारेको छ। यही नीतिमा आधारित भएर एमालेले स्थानीय तह निर्वाचनकेन्द्रित मिसन जागरण अभियानमा चलाउन लागेको एमाले नेताहरुले बताएका छन ।

एमालेले यससलाई ‘६ ज’ को नीतिका रूपमा व्याख्या गरेको छ । जसअन्तर्गत् ‘जनतामा जाऔं, जनताका कुरा सुनौं, जनप्रिय बनौं, जनसंगठन परिचालन गरौं, जबजलाई आत्मसात गरौं र जनमत सर्भेक्षणका आधारमा समेत प्रत्येक तहमा प्रतिस्पर्धामा सफलता हासिल गर्न सक्ने योग्य र सक्षम नेतृत्व तयार गरौ’ भन्ने रहेको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन ।

एमालेले डिजिटल संगठन र प्रभावकारी प्रचारलाई प्राथमिकतमा राखेको समेत उनले जानकारी दिए । पार्टीले सामाजिक सञ्जालको व्यापक प्रयोग गर्न कार्यकर्तालाई निर्देशन जारी गरेको छ। एमालेले ‘अल्गोरिदम’ र ‘पर्सेप्सन म्यानेजमेन्ट (धारणा व्यवस्थापन)’ मा विशेष ध्यान दिन पनि कार्यकर्तालाई भनेको छ। ३१ पृष्ठको सो अवधारणा पत्रमा पार्टीका नेताहरूको जिम्मेवारी तोकिएको छ ।

आचार्यका अनुसार सबै केन्द्रीय सदस्यहलाई पालिकाको जिम्मेवारी दिइएको छ। केन्द्रीय सदस्यले नपुगेका ठाउँमा पार्टीका अन्य नेताहरूलाई समेत जिम्मेवारी दिइएको छ। जिम्मेवारी पाएका नेताहरू स्थलगत रुपमा खटेका छन् कि छैनन भनेर अनुगमनको पनि व्यवस्था गरिएको छ ।

केन्द्रबाट खटिने नेताहरूलाई होटलमा भन्दा जनताको घरमै बस्न आग्रह गरिएको आचार्यले जानकारी दिएका छन । आचार्यका अनुसार यो अभियान र जिम्मेवारी आगामी स्थानीय तह र प्रदेशको निर्वाचनसम्म कायम रहने छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us