काठमाण्डू, ३१ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेर नयाँ पार्टी बनाउन लागेका धवलशमशेर राणा समूहले मेडिकल व्यवसायी तथा अभियान्ता दुर्गा प्रसाईसँग मिलेर नयाँ पार्टी घोषणा गरेका छन । उक्त पार्टीको अध्यक्ष धवलशमशेर राणा बनेका छन् । प्रसाईं भने सर्वमान्य नेता हुने भएका छन् ।
उक्त पार्टीले पूर्णआकार भने आउने साता मात्रै लिने स्रोतले जानकारी दिएको छ । अध्यक्षमा राणा र सर्वमान्य नेता चयन गर्न आन्तरिक सहमति भइसकेको राणा निकट उच्च स्रोतले जानकारी दिएको छ ।
त्यही सहमतिअनुसार उनीहरूले पार्टीको संरचना बनाउने तयारी गरेका छन् । राणा र प्रसाईंको आन्तरिक सहमतिपछि पार्टी निर्माणमा लागि दुईवटा समिति गठन गरिएका छन् ।
पार्टीको विधान, नाम र चिह्नलगायतका लागि एउटा कार्यदल बनेको छ । उक्त कार्यदलको नेतृत्व मुकुन्दश्याम गिरीले गरेका छन् । समितिमा ११ जना छन् । त्यसैगरी, असन्तुष्ट र सम्भावित व्यक्तिहरूलाई पार्टीमा भित्र्याउन राजु आचार्यको नेतृत्वमा ५ सदस्यीय वार्ता टोली बनेको छ ।