काठमाण्डू, २७ जेठ– मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजना अन्तर्गत रातमाटे तथा नयाँ दमौली सबस्टेन र २९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइनको निर्माणको काम सुरु गरेको छ ।
संयुक्त राज्य अमेरिकाबाट प्राप्त ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९.७० करोड अमेरिकी डलर लगानीमा हुने अन्तर्राष्ट्रिय स्तरको विद्युत् प्रसारण पूर्वाधार निर्माण र महत्त्वपूर्ण सडक सञ्जालको स्तरोन्नति कार्य भइरहेको छ ।
एमसीसी नेपाल कम्प्याक्टमार्फत विद्युत् प्रसारण आयोजना अन्तर्गत तीन वटा उच्च क्षमतायुक्त ४०० केभी सबस्टेसन तथा ३१५ किलोमिटर प्रसारण लाइन निर्माण हुँदैछ । त्यसैअन्तर्गत नुवाकोटको रातमाटे सबस्टेसन, दमौली सबस्टेसन र २९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइनको शिलान्यास गरिएको छ ।
शिलान्यास गरिएको २९७ किलोमिटर लामो प्रसारण लाइन सञ्जालमा लप्सीफेदी–रातमाटे–न्यू हेटौंडा खण्ड, रातमाटे–न्यू दमौली प्रसारण लाइन खण्ड र न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन खण्ड रहेका छन् । शिलान्यास गरिएका सबस्टेसन तथा प्रसारण लाइन निर्माण कार्यमा चार निर्माण कम्पनी संलग्न रहेका छन ।
टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनीले रातमाटे र न्यू दमौली सबस्टेसन निर्माण गर्दैछ भने आशिष–बोझ्लर संयुक्त उपक्रमले ११७ किलोमिटर लामो लप्सीफेदी–रातमाटे–न्यू हेटौंडा प्रसारण लाइन खण्ड, एञ्जेलिक–स्किपर संयुक्त उपक्रमले ९० किलोमिटर लामो रातमाटे–न्यू दमौली प्रसारण लाइन खण्ड र वाइबा–सालसर संयुक्त उपक्रमले ९० किलोमिटर लामो न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन खण्ड निर्माण गर्दैछन् ।
निर्माण सम्पन्न भएपछि रातमाटे सबस्टेसन र न्यू दमौली सबस्टेसन नेपालका सबैभन्दा ठूला उच्च–भोल्टेज क्षमताका सबस्टेसनमध्येका हुनेछन् । यी सबस्टेसन तथा प्रसारण लाइन पूर्वाधारले नेपालको विद्युत् प्रसारण सञ्जाललाई सदृढ बनाउनुका साथै दीर्घकालीन ऊर्जा मागलाई सम्बोधन गर्न र आर्थिक वृद्धिलाई तीव्रता दिन सहयोग गर्नेछन् ।
यस पूर्वाधारले नेपालको राष्ट्रिय विद्युत् ग्रीडलाई सदृढ पार्नुका साथै प्रसारण अवरोध न्यूनीकरण गर्नेछ, घरपरिवार र व्यवसायहरूका लागि विद्युत् आपूर्तिको भरपर्दोपनामा सुधार गर्नेछ भने क्षेत्रीय विद्युत् बजारमा नेपालको वृहत सहभागिता गराउन सघाउनेछ ।
‘सरकारले यो आयोजनालाई देशको आर्थिक भविष्यका लागि गरिएको महत्त्वपूर्ण लगानीका रूपमा आत्मसात् गरेको छ’ अर्थ सचिव तथा एमसीए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. घनश्याम उपाध्यायले भने, ‘ऊर्जा सुरक्षा सुनिश्चित गर्न, लगानी र औद्योगिक विस्तार प्रवद्र्धन गर्न तथा नेपालको ऊर्जा सम्भाव्यताबाट अधिकतम लाभ प्राप्त गर्न विद्युत् प्रसारण पूर्वाधारलाई सुदृढ पार्नु आवश्यक छ ।’