रास्वपा सिरहा अधिवेशनमा झडप

काठमाण्डु टुडे २०८३ जेठ २५ गते १८:५० मा प्रकाशित

काठमाण्डू, २५ जेठ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिरहा जिल्ला अधिवेशनमा नेतृत्व चयनको विषयलाई लिएर सोमबार अधिवेशन स्थलमै झडप भएको छ । झडपका कारण निर्वाचन प्रक्रिया मंगलबार बिहानसम्मका लागि स्थगित बन्न पुगेको छ ।

सिरहाको जिरोमाइलस्थित अधिवेशनस्थलमा जिल्ला नेतृत्व चयनको विषयमा उत्पन्न विवादका क्रममा दुई समूहबीच धक्कामुक्की र हातपात भएको रास्वपाका एक नेताले जानकारी दिए । झडपमा र्‍याट एक्सन टिमकै जिल्ला प्रमुख दिनेश थापालगायत केही व्यक्तिमाथि हातपात भएको छ ।

जिल्ला कार्यसमितिको नेतृत्व चयनलाई लिएर लामो समयदेखि मतभेद देखिँदै आएको थियो । अधिवेशनमा सुभाष यादव, रामसोगारथ यादव र वर्तमान सभापति हरि मैनाली सभापतिका आकांक्षी छन् । आइतबार दिनभरि सर्वसम्मतको प्रयास भएपनि टुंगो लागेको थिएन ।

त्यसपछि सोमबार बिहान १० बजेबाट निर्वाचन प्रक्रिया सुरु गर्ने निर्णय भएको थियो । तर, बिहान पनि वतावरण असहज देखिएपपछि निर्वाचन प्रक्रिया रोकिएको थियो । निर्वाचन आयोगले पुन २स्३० बजेबाट फेरि प्रक्रिया अगाडि बढाउने प्रयास गरेको थियो ।

तर, प्रक्रिया अगाडि बढाउना साथ निर्वाचन कार्यालय स्थलमै झडप भएको छ । रामसोगारथ यादवले आफूलाई सर्वसम्मत रूपमा सभापति चयन गर्नुपर्ने अडान राख्दै आएका छन्, भने सुभाष यादव र हरि मैनालीले लोकतान्त्रिक प्रक्रियाअनुसार निर्वाचनमार्फत नेतृत्व चयन हुनुपर्ने माग गर्दै आएका छन् ।

विवाद थप चर्किएपछि पार्टीको केन्द्रीय निर्वाचन आयोगले नेतृत्व चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ । आयोगका प्रमुख भुवन केसीले जारी गरेको विज्ञप्तिअनुसार जिल्ला अधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया मंगलबार बिहान ९ बजेदेखि पुनस् सञ्चालन गरिनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us