काठमाण्डू, २५ जेठ– नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष अञ्जन श्रेष्ठले आगामी आर्थिक वर्ष ०८३–८४ को बजेटले सही दिशा समातेको बताएका छन ।
आज (सोमबार) महासंघले आयोजना गरेको नीति संवादमा अध्यक्ष श्रेष्ठले लगानीको वातावरण सुधार गर्न, उत्पादन बढाउन र स्वदेशमै रोजगारी सिर्जना गर्ने सन्दर्भमा बजेटले सही दिशा समाते बताएका हुन ।
अध्यक्ष श्रेष्ठले भने, ‘दशकौंदेखि हाम्रो अर्थतन्त्र संरक्षण, अनौपचारिकता र प्रशासनिक झन्झटको चक्रमा अल्झिएको थियो, यो बजेटले त्यो चक्र तोड्ने आँट गरेको छ ।’
यद्दपी बजेट कार्यान्वयन कस्तो हुन्छ, त्यो भने हेर्नुपर्ने समेत उनले बताएका छन । नेपालको अर्थतन्त्र एक असहज विरोधाभासमा गुज्रिएको भन्दै अध्यक्ष श्रेष्ठले एकातर्फ बैकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको र अर्कातर्फ ब्याजदर ऐतिहासिक रूपमा तल झरेको सन्दर्भ समेत उल्लेख गरे ।
कर्जा माग नबढेको, माग संचुचित रहेको र निजी लगानी सुस्ताएको अवस्था समेत उनले उल्लेख गरे । यस्तो शिथिलता र अन्योलबीच आएको नयाँ बजेटले अर्थतन्त्रमा आत्मविश्वास र गति फर्काउने अपेक्षा बोकेको उनले बताए ।
अध्यक्ष श्रेष्ठले भने, ‘समग्रमा भन्नुपर्दा बजेटले परम्परागत खर्च बाँडफाँटभन्दा माथि उठेर संरचनागत र कानुनी सुधारको महत्त्वाकांक्षा देखाएको छ, यो दिशालाई महासंघ सकारात्मक रूपमा लिन्छ ।’
उनले नीतिगत र कानुनी सुधारमा सरकारले साहसिक प्रयास गरेको बताए । ‘महासंघले वर्षौंदेखि भन्दै आएको नेपालको समस्या कानुनको अभाव होइन, बरु पुराना, परस्पर बाझिने र व्यवसायलाई निरुत्साहित गर्ने कानुनहरूको बाहुल्य हुनु हो, बजेटले हाम्रो स्वर सुनेको छ,’ उनले भने ।