मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः डा. सीके राउत

काठमाण्डु टुडे २०८३ जेठ २५ गते १५:३२ मा प्रकाशित

काठमाण्डू, २५ जेठ– जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको बताएका छन । आज (सोमबार) काठमाण्डूको माइतीघरमा जनमत पार्टीले आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष राउतले यस्तो बताएका हुन ।

उनले नेपालमा जुनसुकै शासन व्यवस्था आए पनि मधेसका मागप्रति अनुदार हुने गरेको पनि बताएका छन । अध्यक्ष राउतले मधेसबाट मत लिएर सरकार बनाउने तर मधेसका अधिकारका सवालमा बेवास्ता गर्ने प्रवृत्ति निरन्तर रहेको आरोप समेत लगाएका छन ।

राणा शासनकालमा मधेसमाथि उपनिवेशवादी शासन लादिएको दाबी गर्दै अध्यक्ष राउतले पछिल्ला ७५ वर्षमा कांग्रेस र कम्युनिस्ट दलहरूले पनि मधेसलाई विभिन्न रूपमा ठग्दै आएको समेत बताएका छन ।

वि.सं.२००७–००८ सालपछि कांग्रेस र कम्युनिस्टहरूले सत्ताको नेतृत्व गरे पनि आजसम्म मधेसीलाई पूर्ण अधिकार नदिएको उनको भनाइ छ। उनका अनुसार नागरिकता, सुकुम्बासी व्यवस्थापन र स्वायत्तता लगायतका मधेसका मुख्य मागहरू अझै पूरा हुन सकेका छैनन् । उनले सशस्त्र द्वन्द्वका क्रममा पनि मधेसी समुदाय अपेक्षित उपलब्धिबाट वञ्चित भएको दाबी गर्दै माओवादी नेतृत्वको आन्दोलनबाट समेत मधेसीहरू ठगिएको उल्लेख गरे ।

मधेसको राजनीतिक, सामाजिक र संवैधानिक अधिकार सुनिश्चित नभएसम्म विभेद अन्त्य नहुने पनि उनले बताए । राउतले भने, ‘मधेसलाई राणाहरूले पनि ठगे, उपनिवेश शासन नै लादे, कांग्रेस कम्युनिस्टहरूले पनि विगत ७५ वर्षदेखि ठग्दै आएको हामीकहाँ प्रमाण नै छ ।

२००७–००८ सालमा कांग्रेसहरूको सत्ता आयो तर अहिलेसम्म कुनै अधिकार नदिने, नागरिकता नदिने, सुकुमबासीहरूलाई व्यवस्थापन नगर्ने, स्वायत्तता नदिने गरी विभिन्न रूपले ठगी गर्दै आएको छ ।

मत चाहिँ मधेसबाट लिने, सरकार चाहिँ मधेसबाट नै बनाउने तर जहिले पनि अधिकार चाहिँ नदिने षड्यन्त्र हुँदै आएको छ। त्यति मात्रै होइन माओवादी आन्दोलन हुँदा पनि मधेसीहरू ठगिएको हामीकहाँ प्रमाण छ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us