रास्वपा बागलुङको नेतृत्व चयन विवादमा

काठमाण्डु टुडे २०८३ जेठ २५ गते १२:३४ मा प्रकाशित

काठमाण्डू, २५ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको नयाँ नेतृत्व चयन विवादमा तानिएको छ । पहिलो जिल्ला अधिवेशनबाट चयन भएको कार्यसमितिलाई एक समूहले विधि र प्रक्रिया मिचेर एकतर्फी रूपमा घोषणा गरिएको भन्दै एक रास्वपाकै अर्काे समुहले विरोध गरेको हो ।

शनिबार र आइतबारका लागि तोकिएको अधिवेशनमा अध्यक्ष पदका लागि ४ जनाको दाबेदारी रहेकोमा निर्वाचन समितिले एकतर्फी रूपमा पुनम शर्मालाई अध्यक्ष घोषणा गरेको आरोप समेत रहेको छ । अध्यक्षमा ढालेन्द्र रायमाझी, खिमानन्द पौडेल, मनोज खड्का र पुनम शर्मा उम्मेदवार रहेका थिए ।

उपाध्यक्षमा अध्यक्षका दाबेदार ढालेन्द्र रायमाझीलाई राखिएको थियो । सचिवमा लालबहादुर क्षत्री, कोषाध्यक्षमा डुक मल्ल र सहसचिवमा पुष्पा आचार्यलाई जिम्मेवारी तोकिएको छ ।

सबै पदहरुमा एकलौटी ढंगले घोषणा गरेको भन्दै उक्त अधिवेशनको कार्यसमिति स्वीकार नगर्ने असन्तुष्ट पक्षले चेतावनी दिएको छ । निर्वाचन समितिमा बागलुङ १ का सांसद सुशील खड्का प्रमुख थिए भने २ नम्बर क्षेत्रका सांसद सोम शर्मा र प्रदेश सदस्य चित्रबहादुर थापा सदस्य थिए ।

खासगरी अध्यक्षका दाबेदार ढालेन्द्र रायमाझी र गलकोट नगर अध्यक्ष राजेन्द्र पुनले अधिवेशनको प्रक्रियामाथि प्रश्न उठाएका हुन् । ०७९ को स्थानीय निर्वाचनमा एमालेबाट टिकट नपाएपछि बागी उम्मेदवार बनेका शर्मा अहिले रास्वपा प्रवेश गरेर जिल्ला सभापति बनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us