एजेन्सी : मध्यपूर्वमा बढ्दो तनावबीच इरानले आइतबार राति इजरायलमाथि कयौँ ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।
लेबनानको राजधानी बेरूतमा इजरायलले हालै गरेको हवाई आक्रमणको प्रतिशोधस्वरूप उक्त कदम चालिएको इरानले जनाएको छ ।
बेरूतमा भएको आक्रमणमा दुई जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए ।
इजरायली पक्षका अनुसार गत अप्रिलमा भएको युद्धविरामपछि इरानले प्रत्यक्ष रूपमा इजरायली भूभागलाई लक्षित गर्दै गरेको यो पहिलो मिसाइल आक्रमण हो ।
आक्रमणपछि इरानको इस्लामिक रिभोलुस्नरी गार्ड कर्प्स (आईआरजीसी) ले विज्ञप्ति जारी गर्दै यसलाई प्रारम्भिक चेतावनी मात्र भएको जनाएको छ ।
साथै, अमेरिका वा इजरायलबाट थप आक्रमण भए दुवै देशका सैन्य तथा रणनीतिक संरचनामाथि प्रत्यक्ष निशाना साधिने चेतावनी पनि दिएको छ ।
यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् ।
फक्स न्युजसँगको अन्तर्वार्तामा उनले मध्यपूर्वको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई फोन गरी कुनै पनि प्रकारको जवाफी सैन्य कारबाही नगर्न आग्रह गर्ने बताएका छन् ।
इरानको पछिल्लो मिसाइल आक्रमण र त्यसपछि देखिएको कूटनीतिक सक्रियताले मध्यपूर्वको सुरक्षा अवस्थालाई थप संवेदनशील बनाएको छ ।
यद्यपि, इजरायलले यस घटनापछि आफ्नो आधिकारिक प्रतिक्रिया र आगामी रणनीतिबारे अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेको छैन ।