फिलिपिन्समा शक्तिशाली भूकम्प

काठमाण्डु टुडे २०८३ जेठ २५ गते ७:४६ मा प्रकाशित

काठमाडौं- फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओ नजिक सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ ।

जनरल सान्तोस सहरको तटीय क्षेत्र आसपास केन्द्रबिन्दु रहेको भूकम्पपछि विभिन्न देशहरूले सुनामी चेतावनी जारी गरेका छन् ।

स्थानीय समयअनुसार बिहान ७ः३७ बजे गएको भूकम्पको तीव्रता र गहिराइबारे विभिन्न निकायले फरक–फरक विवरण सार्वजनिक गरेका छन् ।
फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानका अनुसार भूकम्प ७.० म्याग्निच्युडको थियो र यसको गहिराइ १० किलोमिटर रहेको थियो ।

तर अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले भूकम्पको तीव्रता ७.८ म्याग्निच्युड र गहिराइ ३५ किलोमिटर रहेको जनाएको छ ।

जर्मनीको भूविज्ञान अनुसन्धान केन्द्रले पनि ७.८ म्याग्निच्युडको भूकम्प आएको उल्लेख गर्दै यसको गहिराइ ५० किलोमिटर रहेको जनाएको छ ।
भूकम्पलगत्तै फिलिपिन्स, इन्डोनेसिया, जापानलगायतका देशहरूले सुनामी चेतावनी जारी गरेका छन् ।

प्रशान्त सुनामी चेतावनी केन्द्रले भूकम्पको केन्द्रबिन्दु आसपासका केही प्रशान्त क्षेत्रहरूमा सुनामीको जोखिम रहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us