कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान

काठमाण्डु टुडे २०८३ जेठ २४ गते १७:४४ मा प्रकाशित

काठमाण्डू,२४ जेठ– प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले सोमबार बिहान प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् ।

प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली नयाँ आएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वतः विघटन भएको छ । नयाँ समिति नबनेकाले सदनको कार्यसूचीबारे छलफल गर्न सभामुख अर्यालले सदनमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूको बैठक बोलाएको उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सोमबार बिहान साढे ९ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सभामुखले प्रमुख सचेतकहरूको बैठक बोलाएको जानकारी दिएका छन ।

अहिलेसम्म प्रतिनिधिसभा प्रतिनिधिसभा नियमावली २०७९ बाट चलिरहेको थियो । जेठ १७ गते विपक्षी दलहरूको बेल घेराउबिच सत्तारुढ दलको बहुमतबाट प्रतिनिधि सभा नियमावली २०८३ पारित भएको थियो ।

त्यसपछि विपक्षी दलहरूले सदनलाई कार्यसूचीमा प्रवेश गर्न नदिएकाले नयाँ कार्यव्यवस्था परामर्श समिति बन्न सकेको छैन ।

विपक्षी दलहरूले जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको सीमा मिचेको छ भन्दै दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र सदनमा आएर माफी माग्नुपर्ने माग राख्दै सदनमा अवरोध गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us