रास्वपा सांसदको आरोपः सिडिओ, प्रहरी र सरकारी वकिलले निर्दोषलाई अपराधी र अपराधीलाई निर्दोष बनाउने काम गर्छन्

काठमाण्डु टुडे २०८३ जेठ २३ गते १७:३५ मा प्रकाशित

दाङ–सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं सांसद् सुरेन्द्र चौधरीले सरकारी कर्मचारी र प्रहरीमाथि गम्भीर आरोप लगाएका छन् ।

रास्वपाको दाङ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै शनिबार उनले प्रमुख सिडिओ, एसपी र सरकारी वकिल मिलेर जो कोहीलाई अपराधी बनाउने काम गरिरहेको आरोप लगाए ।

उनले आफूहरुको सरकारले राज्यको चरित्र बदल्न सक्नुपर्ने बताए । यो कुरा आफ्ना पार्टी सभापति रवि लामिछानेले पटकपटक भन्दै आएको चौधरीको भनाइ थियो ।

‘प्रहरी, सिडिओ र सरकारी वकिल तीन जना मिल्यो भने यो हलका सबै मान्छेलाई अपराधी बनाइदिन सक्छन्’, उनले भने, ‘अनि अपराधीलाई निर्दोष बनाउन सक्छन् । यो कुरा हामो पार्टीका सभापति रवि लामिछानेले पटकपटक भन्दै आउनुभएको छ ।’

राज्यले जे भन्यो नागरिकले त्यही खुरुखुरु मान्नुपर्ने अवस्था विद्यमान रहेको भन्दै उनले त्यसमा परिवर्तन ल्याउन जरुरी रहेको बताए । नागरिकले जे चाहन्छन् राज्यका निकायले त्यही गर्नुपर्ने जिकिर उनको छ ।

फरक प्रसंगमा उनले आन्तरिक प्रतिस्पर्धामा पुराना दलहरुमा जस्तो होटलमा लगेर प्रतिनिधिलाई पैसामा किन्ने र मासुभात खुवाउने प्रवृत्ति रास्वपामा भित्रन दिन नहुने बताए ।

काँग्रेस पृष्ठभूमिका चौधरी चुनावअघि रमेश चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सदस्य थिए । उक्त पार्टी छाडेर रास्वपा प्रवेश गरेका उनी समानुपातिक प्रणाली तर्फबाट सांसद् भएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us