कानून व्यवसायीले गरे दिउँसै लालटिन बालेर प्रदर्शन

काठमाण्डु टुडे २०८३ जेठ ५ गते १४:५४ मा प्रकाशित

काठमाण्डू, ५ जेठ– कानून व्यवसायीहरूले लालटिन बालेर प्रदर्शन गरेका छन । सर्वोच्च अदालतमा विकसित घटनाक्रमप्रति सांकेतिक विरोध गर्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा आज (मंगलबार) सर्वोच्च परिसरमा प्रदर्शन भएको हो ।

एसोसिएसनको सोमबारको बैठकले अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै त्यसको विरोधमा दिउँसै लालटिन बालेर प्रदर्शन गर्ने निर्णय गरेको थियो । सत्य र न्यायको खोजीका लागि मंगलबार दिउँसो १ बजे नेपाल बारको कार्यालय प्राङ्गणमा लालटिन बालेको हो । प्रधानन्यायधीश सिफारिसको विषयमा नेपाल बारले असन्तुष्ट व्यक्त गर्दै आएको छ ।

वरिष्ठतम मिचेर चौथो वरीयताको न्यायाधीशलाई प्रधान्यायाधीशमा सिफारिस गरिएको भन्दै नेपाल बारले विरोध गरिरहेको छ । वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधानलाई प्रधानन्यायाधीशमा सिफारिस गर्नुपर्ने बारको माग थियो ।

तर संवैधानिक परिषद्ले चौथो वरीयतामा रहेका न्यायाधीश मनोज शर्माको नाम सिफारिस गरेको छ । संसदीय सुनुवाइ समितिमा सुनुवाइसमेत सुरु भइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us