विदेशी युवतीलाई गर्भवती बनाएर छाडेको आरोप लागेका सांसदलाई पक्राउ गर्न जेनजी समूहको माग

काठमाण्डु टुडे २०८३ जेठ ५ गते १३:३३ मा प्रकाशित

काठमाण्डू, ५ जेठ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्कीमाथि विदेशी महिलालाई गर्भवती बनाएर अलपत्र पारेको आरोप लागेको छ । उनीमाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग संसदमै उठेको छ ।

हिजो जनआस्था साप्ताहिकले सांसद कार्कीले नाइजेरियन युवती रिता अजुकोलाई गर्भवती बनाएर ‘सम्पर्कविहीन भएको’ समाचार प्रकाशित गरेको थियो । उनीहरूबीच भएको च्याटका स्क्रिनसटहरूले अजुकोलाई कार्कीले गर्भवती बनाएको पुष्टि गरेका छन् । यतिमात्र नभएर अजुकोको गर्भपरीक्षण गर्दा श्रीमान् भनेर कृष्ण कार्कीको नाम उल्लेख भएको पनि भेटिएको छ ।

अजुकोले सुरूमै गर्भपतन गर्न खोज्दा कार्कीले नै रोकेका थिए । तर, पछि कार्की सम्पर्कविहीन बनेपछि अजुकोले न्यायको याचना गरिरहेकी छन् । यो विषयमा कार्कीले कुनै पनि प्रष्टीकरण दिएका छैनन् । उनी हिजो र आज प्रतिनिधिसभा बैठकमा पनि अनुपस्थित बने । हिजो उनले वैठकमा बोल्न कार्कीले नाम टिपाएका थिए । तर, उपस्थित भएनन् । सभामुख डोलप्रसाद अर्यालले तीन पटक उनको नाम बोलाएका थिए ।

आजको संसद बैठकमा नेकपाकी सांसद पार्वती विकले यो विषय उठाएकी थिइन् । उनले सांसद कार्कीमाथि छानविन गरी दोषि देखिए कारबाही गर्न माग गरिन् । जेनजी मुभमेन्ट नेपालले कार्कीलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ । जेनजी प्रवक्ता विजय शाहद्वारा हस्ताक्षरित विज्ञप्तिमा कार्की सिंहदरबार आगजनीमा संलग्न रहेको र विदेशी महिलालाई गर्भवती बनाएर छोडेको भन्दै पक्राउ गर्न माग गरिएको हो ।

जेन–जी मुभमेन्टले विज्ञप्तिमा भनेको छ, ‘सांसद कार्कीमाथि एक नाइजेरियन युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोपसमेत सार्वजनिक रुपमा उठिरहेको छ । यो विषयमा निष्पक्ष अनुसन्धान गरी पीडितलाई न्याय सुनिश्चित गरियोस् ।’ विज्ञप्तिमा थप भनिएको छ, ‘राज्यको प्रमुख प्रशासनिक तथा संसदीय संरचनामाथि गरिएको हमला सामान्य राजनीतिक गतिविधि नभई गम्भीर फौजदारी अपराध हो । यस्तो कार्यमा संलग्न जनप्रतिनिधिलाई पक्राउ गरी कानून बमोजिम कारबाही होस् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us