प्रस्तावित प्रधानन्यायाधीशको शैक्षिक योग्यतामा उठ्यो प्रश्न

काठमाण्डु टुडे २०८३ जेठ ५ गते १३:१५ मा प्रकाशित

काठमाण्डू, ५ जेठ– सर्वेच्चको लागि प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मामाथि संसदीय सुनुवाइ जारी छ । संसदीय सुनुवाइ समितिमा अहिले उजुरीकर्ताहरूसँग छलफल जारी छ । उजुरीकर्ताहरूले शर्माको शैक्षिक योग्यता र क्षमतामा प्रश्न उठाएका छन् । उनीविरुद्ध परेका १६ वटा उजुरीमाथि अहिले छलफल चलिरहेको हो ।

सिंहदरबारस्थित समितिको कार्यकक्षमा जारी छलफलमा मकवानपुरका उजुरीकर्ता दिपक न्यौपानेले उनको शैक्षिक प्रमाणपत्र मगाएर अध्ययन गर्न माग गरेका छन् । ‘योग्यतामा प्रश्न उठिसकेको छ । उहाँको फाइल मगएर समितिले अध्ययन गरोस्,’ छलफलमा भाग लिँदै उनले भनेका छन्, ‘प्रधानन्यायाधीश हुनु अगावै सर्वोच्चमा सेटिङ गरिरहनुभएको छ ।

सीसीटीभी समेत मगाएर हेरियोस् ।’ उनले न्यायाधीश हुँदा पार्टीको कार्यालय पुगेर शपथ लिएको विषय पनि उठाए । ‘हिजो न्यायाधीश भएपछि एमाले पार्टी कार्यालय गएर शपथ खानेलाई ख्याल गर्नुपर्ने हुन्छ,’ उजुरीकर्ता न्यौपानेले भनेका छन् । यसैबीच रास्वपा सांसद राजीव खत्रीले बौद्धिक चोरीको तथ्य प्रमाण के हो ? भन्दै प्रश्न गरे । ‘बौद्धिक चोरी गरेको आरोप लगाउनु भएको छ ।

यसको तथ्य प्रमाण के हो ?,’ उनले भने, ‘थेसिस पनि ल क्याम्पसका प्राध्यापकलाई लेखाएको भनेको के हो ?’ अर्का सांसद नरबहादुर विष्टले एमाले पार्टी कार्यालयमा शपथ लिएको विषयबारे प्रश्न गरे । ‘एमालेको पार्टी कार्यालय गएको भन्नुभयो । उहाँ अहिले पनि एमाले हो भन्ने दाबी हो ?,’ उनको प्रश्न थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us