काठमाण्डू, ४ जेठ– इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृत झा रिहा भइसकेको गलत सूचना सार्वजनिक भएको विषयमा परराष्ट्र मन्त्रालयले माफी मागेको छ ।
उनको रिहाइ भइनसकेको स्पष्ट पार्दै परराष्ट्र मन्त्रालयले यसअघि सार्वजनिक भएको गलत सूचना र त्यसबाट सिर्जना भएको अन्योलप्रति मन्त्रालयले क्षमा मागेको हो । मन्त्रालयले आज सोमबार प्रेस विज्ञप्ति जारी गर्दै झा हाल इरानको बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामै रहेको र उनको मुद्दा त्यहाँको स्थानीय अदालतमा विचाराधीन रहेको बताएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार अमेरिका, इजरायल र इरानबीच गत फेब्रुअरी २८ मा द्वन्द्व सुरु हुनुभन्दा अगावै जनवरीको सुरुमा झासहित अन्य ६ जना विदेशी नागरिकहरूलाई इरानी सुरक्षाकर्मीले क्युसिएम टापुबाट नियन्त्रणमा लिएका थिए ।
यसअघि गत अप्रिल १५ मा इरानका लागि नेपाली अनररी कन्सल शाहराम सान्तीयले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई झा रिहा भएको र उनको रिहाइ पत्र जारी भइसकेको भनी अनौपचारिक सूचना पठाएका थिए । सोही सूचनाका आधारमा तत्कालीन जनचासो, सञ्चार माध्यमको सोधपुछ र परिवारको चासोलाई सम्बोधन गर्न मन्त्रालयले झा रिहा भएको विज्ञप्ति जारी गरेको थियो भने परराष्ट्र मन्त्रीले समेत सामाजिक सञ्जालमार्फत उक्त कुरा सार्वजनिक गरेका थिए ।
तर, त्यसको केही दिनपछि प्राप्त विवरणअनुसार अदालतले उक्त मुद्दामा विशेषज्ञ प्रतिवेदन तयार गर्न आदेश दिएकाले झा रिहा नभएको तथ्य खुलेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले उपलब्ध गराएको पछिल्लो जानकारीअनुसार गठित विज्ञ टोलीले प्रतिवेदन तयार गरी अदालतमा बुझाउने अन्तिम तयारी गरिरहेको छ ।
इरानको स्थानीय अदालतमा विचाराधीन मुद्दाको निरूपण त्यहाँकै कानुनअनुसार हुने भए पनि झाको निष्पक्ष सुनुवाइ र कानुनी प्रतिरक्षाका लागि उपलब्ध सबै माध्यमहरूको प्रयोग गरी निरन्तर कूटनीतिक पहल जारी राखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यस कूटनीतिक अन्योल र त्यसबाट परेको असुविधाप्रति दुःख व्यक्त गर्दै मन्त्रालयले झाका परिवारलाई मन्त्रालयमै बोलाएर यथार्थ तथ्यबारे जानकारी गराइसकेको स्पष्ट पारेको छ ।