काठमाण्डू, ४ जेठ– कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेतृत्वको अबको नीति गुट भत्काएर पार्टी बनाउने भएको बताएका छन । आज (सोमबार) बाट काभ्रेको धुलिखेलमा सुरू भएको ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेश स्तरीय भेला’ सम्बोधन गर्दै गर्दै कांग्रेस उपसभापति शर्माले यस्तो बताएका हुन ।
उपसभापति शर्माले भने, ‘विशेष महाधिवेशनमा सहभागीलाई मात्रै जिम्मेवारी दिइयो भने विभाजनलाई बल पुग्छ, ‘तर, विशेषमा सहभागी नभएकालाई पनि समेटेर क्रमशः जिम्मेवारी दिइँदैछ, थप समेटिनेछ । यो गुट भत्काउने पार्टी बनाउने बाटो हो ।’ उनले पार्टीका क्रियाशील सदस्यहरूलाई सदस्यता अद्यावधिक गर्न पनि आग्रह गरे ।
‘गगन थापालाई विश्वास नगर्नुस् ठीक छ, तर आफ्नै वडाको पार्टी सभापतिलाई विश्वास गर्नुस्,’ उपसभापति शर्माले भने, ‘क्रियाशिल सदस्यता अधावधिक गर्ने गगन थापाले होइन, वडा–वडामा त्यही वडाका पार्टी सभापतिले गर्ने हो ।’
उपसभापति शर्माले सदस्यता अद्यावधिकमा कसैका प्रति अशांका र अविश्वास गर्न आवश्यक नभएको पनि तर्क गरे । ‘को प्रति शंका र अविश्वास ?,’ प्रश्न गर्दै उनले भने, ‘अद्यावधिक गर्ने उनै १४ औं महाधिवेशन क्रममा चयन भएका वडा सभापति । पालिकामा उनै सभापति अनि जिल्ला सभापति उनै होइनन् र ?’