पार्टी विभाजन रोक्ने जिम्मेवारी गगन थापाको हो : खड्का

काठमाण्डु टुडे २०८३ जेठ २ गते १६:२९ मा प्रकाशित

सुर्खेत, २ जेठ — नेपाली कांग्रेसभित्र नेतृत्व, संगठनात्मक दिशा र भावी एकताबारे फेरि बहस चर्किएको छ ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले वर्तमान नेतृत्व संरचना र आन्तरिक शक्ति सन्तुलनप्रति संकेत गर्दै नेतृत्व परिवर्तनबारे कडा टिप्पणी गरेका छन् ।
शनिबार सुर्खेतमा आयोजित ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीमा बोल्दै खड्काले कांग्रेसभित्रको नेतृत्व बहस गहिरिँदै गएको अवस्थामा पार्टीको भविष्य एकताको बाटोमा जानुपर्ने कि विभाजनतर्फ धकेलिने भन्ने निर्णायक मोडमा पुगेको बताए ।
उनले आफूले सभापति गगन थापा सँगको भेटमा सम्पूर्ण पार्टीलाई समेट्न सक्ने नेतृत्वको आवश्यकता औंल्याएको उल्लेख गर्दै व्यक्तिगत वा सीमित घेराको नेतृत्वले संगठनलाई कमजोर बनाउने जोखिम रहने संकेत गरे ।

उनका अनुसार अहिलेको अवस्था “सानो दायरामा सीमित नेतृत्व” जस्तो देखिनु पार्टीका लागि चुनौती हो ।
खड्काले पार्टीभित्र सहमति र एकता कायम राख्नुपर्नेमा जोड दिँदै निर्णय क्षमतामा विभाजन देखिए संगठनात्मक असर पर्ने चेतावनी पनि दिए ।
उनले आन्तरिक विवाद र विशेष महाधिवेशनसँग जोडिएको प्रक्रियाले विगतको निर्वाचन परिणाममा प्रभाव पारेको दाबी गर्दै कांग्रेस कमजोर स्थितिमा पुगेको टिप्पणी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us