प्रधानमन्त्रीलाई सबक सिकाउनुपर्नेछ, जिम्मेवारी पढाउनुपर्नेछः पद्मा अर्याल

काठमाण्डु टुडे २०८३ वैशाख ३० गते १४:२६ मा प्रकाशित

काठमाण्डू, ३० वैशाख– एमाले सांसद पद्मा अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसद्प्रतिको जवाफदेही बनाउन आफूहरू विरोधमा उत्रिएको बताएकी छन । आज (बुधबार) बसेको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा एमाले सचिव समेत रहेकी सांसद अर्यालले प्रधानमन्त्री शाहले संसद्लाई बेवास्ता गरिरहेको टिप्पणी गरिन् ।

‘प्रधानमन्त्रीले यो संसद्लाई जसरी बेवास्ता गरिरहनुभएको छ, जसरी संसद्प्रतिको उत्तरदायित्वलाई केही होइन भनिरहनुभएको छ,’ अर्यालले भनिन्, ‘त्यसैले उहाँलाई सबक सिकाउनुपर्ने पनि छ ।

तपाईंको जिम्मेवारी के हो भनेर पढाउनुपर्ने पनि छ । त्यो हिसाबले हामीले बोलाएको हो ।’ साथै, उनले प्रधानमन्त्री शाह जवाफ दिनका लागि आउने ग्यारेन्टी नभइ संसद्मा टेबुल गर्न नदिने बताइन् ।

‘हामी प्रष्टताका साथ यद्यपि उहाँ पेश गर्ने समयमा आउनुपर्ने हो । आउनै नसक्ने स्थिति हो र वारेस अर्थमन्त्रीलाई बोलाइएको हो भने जवाफ दिने बेलामा उहाँ अनिवार्य उपस्थित हुनैपर्छ ।

तर ग्यारेन्टी हुनुपर्छ,’ उनले भनिन्, ‘उहाँ आउनसक्नुहुन्छ धेरै राम्रो, आउन सक्नु हुन्न वारेसबाट टेबुल भए पनि उहाँ जवाफ दिन आउने कुराको सुनिश्चितता नभइ हामीले टेबुल गर्न दिँदैनौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us