राष्ट्रपति बोल्दाबोल्दै संसद्‌बाट हिंडेको घटनामा कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाण्डु टुडे २०८३ वैशाख २९ गते १३:२९ मा प्रकाशित

काठमाण्डू, २९ वैशाख– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा संसद् बैठकबाट बाहिरिएको घटनामा प्रधानमन्त्री बालेन शाह (बालेन) सँग जवाफ माग गरेको छ ।

आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा पार्टीको तर्फबाट बोल्दै कांग्रेस सांसद वासना थापाले प्रधानमन्त्रीको जवाफ माग गरेकी हुन् । लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य संसद्मा देखिएको बताइन ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भनिन्, ‘लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य हिजो देखियो । राष्ट्रपतिज्यूबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू संसद्बाट बाहिरिनु यो केवल सामान्य दृश्य होइन ।’

संवैधानिक संस्कार, संसदीय परम्परा, राज्यको उत्तरदायीत्व र सरकारको गम्भीरता हुनुपर्ने कुरा आफ्नो पार्टीलाई लागेको उनले सुनाइन् । ‘यस विषयमा स्पष्ट जवाफ दिइयोस् ।

यस्ता घटनाको पुनरावृत्ति नहोस् । लोकतन्त्रमा पदभन्दा ठूलो कुरा मर्यादा र मर्यादाभन्दा ठूलो कुरा जनविश्वास हो भन्ने कुरामा ध्यान जओस्,’ उनले भनिन्, ‘प्रतिपक्षी दलको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूको जवाफको माग गर्दछु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us