आज संसदमा शीर्ष नेताहरूले सम्बोधन गर्ने

काठमाण्डु टुडे २०८३ वैशाख २९ गते ११:५६ मा प्रकाशित

काठमाण्डू, २९ वैशाख– आज (मंगलबार)को प्रतिनिधिसभा बैठकमा दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् । मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने ६ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

बैठकमा सत्तारुढ दल रास्वपाबाट सभापति रवि लामिछानेले सम्बोधन गर्ने कि दलको उपनेताले सम्बोधन गर्ने भन्ने विषय टुंगो लागेको छैन । यसबारे केही बेरमा बस्ने संसदीय दलले टुंगो लगाउने सचेतक प्रकाशचन्द परियारले जानकारी दिएका छन ।

प्रमुख प्रतिपक्ष दल तथा नेपाली कांग्रेस दलका नेता भीष्मराज आङ्दाम्बे, नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् ।

पूर्वप्रधानमन्त्रीको हैसियतले सम्बोधनका लागि प्रचण्डले विशेष समय माग गरेका छन् । निर्वाचित भएपछि उनले पहिलो पटक सम्बोधन गर्न लागेका हुन् । यस्तै श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्क बहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सम्बोधन गर्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us