काठमाण्डू, २९ वैशाख– एमालेका नेता विष्णु रिमालले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा घटेको घटनाक्रमलाई लिएर सामाजिक सञ्जालमार्फत व्यङ्ग्यपूर्ण टिप्पणी गरेका छन ।
एमाले नेता रिमालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै ‘क्लेभर’ को संज्ञा दिँदै सरकारको नीति तथा कार्यक्रममा कुनै सार नभएपछि ध्यान अन्यत्र मोड्न प्रधानमन्त्रीबाटै अनौठो हर्कत भएको दाबी गरेका हुन् ।
संसद्को दृश्यलाई चित्रण गर्दै रिमालले एकातर्फ राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहेको र अर्कातर्फ प्रधानमन्त्रीले नै ‘वाकआउट’ गरेको विषयलाई ‘अटेन्सन डाइभर्ट’ गर्ने जुक्तिका रूपमा व्याख्या गरेका छन । नीति तथा कार्यक्रममा खासै उल्लेख्य कुरा केही नभएपछि जनताको ध्यान अन्तै मोड्न यसो गरिएको नेता रिमालको बुझाइ छ ।
यसै सन्दर्भमा रिमालले सत्ताधारी दललाई एउटा रोचक सुझाव समेत दिएका छन् । उनले एउटा जाँचबुझ आयोग बनाएर राष्ट्रपतिले वाचन गरेको त्यो कार्यक्रम आखिर कसको थियो भन्ने पत्ता लगाउन अनुरोध समेत गरेका छन ।
प्रधानमन्त्री आफैँले वाकआउट गरेपछि त्यो कार्यक्रम सरकारको होइन भन्ने कुरा पुष्टि भएको भन्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न समेत गरेका छन ।
रिमालले ‘आखिर राष्ट्रपतिले वाचन गरेको त्यो कार्यक्रम चाहिँ कसको थियो ?’ भन्दै प्रश्न गरेका छन् र प्रधानमन्त्रीको व्यवहारले त्यो सरकारको कार्यक्रम होइन भन्ने ‘कन्फर्म’ गरिदिएको उल्लेख गरेका छन्।