काठमाण्डू, २८ वैशाख– प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले अध्यादेश ल्याउनसक्ने संवैधानिक अधिकारको दुरूपउयोग गरेको आरोप लगाएको छ ।
आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले यस्तो आरोप लगाएकी हुन ।
सांसद ओलीले नेपालको संविधानको धारा ११४ ले कस्तो अवस्थामा अध्यादेश ल्याउन सकिने भनेर प्रष्ट भनेको तर, सरकारले त्यसको मर्म ख्याल नगरी धमाधम अध्यादेश ल्याएको आरोप समेत लगाएकी छन । उनले थप भनेकी छन्, ‘प्रतिनिधिसभालाई सरकारले वेवास्ता गरेको हो कि भन्ने देखिन्छ ।
अझ भनौं प्रतिनिधिसभालाई छायामा पारेको हो कि भन्ने भान हुन्छ । प्रतिनिधिसभा सरकारको कठपुतली होइन ।’ प्रतिनिधिसभा सरकारको कठपुतली नभएको भनेर विगतमा रास्वपाले नै संसद्मा उठाउने गरेको र संसद्मा यस्तै भन्नेहरू अहिले मन्त्रिपरिषद् सदस्य रहेको पनि उनले स्मरण गरिन् ।