काठमाण्डू, २८ वैशाख– पूर्व मन्त्री एवं एमाले एमालेका नेता सुरेन्द्र पाण्डेले कम्युनिस्ट पार्टीहरूले आजका युवाको भाषा बोल्न छाडेको र उनीहरूको समृद्धिको सपनालाई राजनीतिक रूपमा बोक्न नसकेको बताएका छन ।
आज (सोमबार) बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत वामपन्थी विश्लेषक झलक सुवेदीको प्रकाशित एक लेखको जवाफ दिँदै नेता पाण्डेले यस्तो बताएका हुन । उनले मार्क्सवादको वर्गीय विश्लेषण आज पनि उत्तिकै सान्दर्भिक रहेको सैद्धान्तिक यथार्थलाई आफूले स्वीकार गर्ने बताएका छन् ।
कतारको मरुभूमिमा काम गर्ने श्रमिकदेखि काठमाण्डूमा विदेशी कम्पनीका लागि कोड लेख्ने युवासम्मले आफ्नो श्रम बेचिरहेको र उनीहरूमाथि शोषण भइरहेको सत्यलाई उनले नकारेका छैनन् । तर, नेता पाण्डेले आफ्नो मुख्य प्रश्न सैद्धान्तिक नभई राजनीतिक र साङ्गठनिक भएको प्रस्ट पारेका छन् ।
लाखौँ असुरक्षित र निराश नेपालीहरू कम्युनिस्ट पार्टीको सामाजिक आधार भए पनि उनीहरू पार्टीसँग भावनात्मक रूपमा जोडिन नसक्नु र वैकल्पिक शक्तितर्फ आकर्षित हुनु आजको मुख्य समस्या भएको उनको ठम्याइ छ । ‘यसको कारण विचारधारा गलत भएर होइन,’ पाण्डेले भनेका छन्, ‘समस्या यो हो कि हामीले उनीहरूको भाषामा बोल्न छोड्यौँ ।
उनीहरूको दैनिक अनुभव, असुरक्षा, आकाङ्क्षा र डिजिटल जीवनसँग पार्टीको संवाद टुट्यो ।’ युवाहरूलाई ‘तिमी शोषित हौ’ भनेर मात्रै राजनीतिक सङ्कट समाधान नहुने भन्दै उनले उनीहरूभित्र रहेको गरिबीबाट माथि उठेर सम्पन्न बन्ने तीव्र आकाङ्क्षालाई पार्टीले सम्बोधन गर्न नसकेको स्वीकार गरेका छन् ।
उनले आफूले उठाएको मोबाइल डेमोक्रेसीको प्रसङ्ग मार्क्सवादलाई विस्थापित गर्न नभई आजको डिजिटल समाज कसरी सङ्गठित हुन्छ र राजनीति कसरी फैलिन्छ भन्ने नयाँ यथार्थ बुझ्नका लागि भएको उनले स्पष्ट पारेका छन् ।पुरानै सङ्गठनात्मक संरचना, भाषा र राजनीतिक शैलीका कारण जनता र पार्टीबीच दूरी बढिरहेको भन्दै पाण्डेले सैद्धान्तिक स्पष्टताका साथै साङ्गठनिक तथा राजनीतिक कल्पनाशीलता आजको आवश्यकता भएको पनि उनले बताएका छन ।