काठमाण्डू, २८ वैशाख– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो राजनीतिक सम्वाद गरेकी छन् । हिजो दिउँसो १ बजे गुन्डु पुगेकी भण्डारीले ओलीसँग दुई घण्टा बढी संवाद गरेकी गुन्डु स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार स्वास्थ्य अवस्था बुझ्न भनेर गुन्डु पुगेकी भण्डारीले ओलीसँग एमालेको आन्तरिक राजनीतिबारे सुझाव समेत दिएकी छन् । ‘पदाधिकारीदेखि तल कार्यकर्तासम्मले निर्वाचनको समीक्षा बैठक राख्न माग राखिरहेको सुनिन्छ ।
तर अहिलेसम्म बैठक बोलाइएको छैन, ‘केपी ओलीसँग यही विषयमा कुरा गर्नुभयो ।’ एमालेका पूर्व उपाध्यक्ष समेत भइसकेकी भण्डारीले समीक्षा बैठक राख्न ढिलाइ नगर्न ओलीलाई सुझाव दिएकी छन् ।
‘कार्यकर्तामा निराशा बढ्दै गएको छ । यस्तो अलमलमा धेरै बसिरहनु हुँदैन,’ पूर्वराष्ट्रपति भण्डारीले भनेकी थिइन् । एमालेभित्र ओलीले नेतृत्व छोड्नुपर्छ भन्ने आवाज उठिरहेको सन्दर्भ समेत भण्डारीले सम्झाएकी थिइन् ।
‘ओलीले छोडिहाल्नुपर्छ भन्ने पनि सुन्छु । त्यो आफ्नो ठाउँमा छ, तर तपाईंले बैठक चाहिँ बोलाइदिनुस्,’ पूर्वराष्ट्रपतिले सुझाव दिएकी छन् । ओलीले भने सन्दर्भ नमिलिरहेकाले बैठक बस्न ढिलाइ भइरहेको जवाफ दिएका थिए । ओलीले अरु नेताहरुसँग पनि यस्तै तर्क गर्दै आएका छन् ।