काठमाण्डू, २८ वैशाख– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । पूर्व राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच (आइतबार) साँझ ओली निवास भक्तपुरको गुण्डुमा भएको भेटवार्तामा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थादेखि मुलुकको परिवर्तित राजनीतिक अवस्थाका बारेमा कुराकानी गुन्डु स्रोतले जानकारी दिएको छ ।
अध्यक्ष ओली पत्थरीको शल्यक्रियापछि निवासमै स्वास्थ्य लाभ गरिरहेका छन् । यसअघि ओली अस्पतालमै रहेका बेला पनि भण्डारी अस्पताल पुगेर स्वास्थ्य अवस्था बुझेकी थिइन् । आइतबार पूर्वराष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबिच करिब ३ घण्टा भेटवार्ता भयो’, गुन्डु स्रोतले भन्यो, ‘भेटमा दुई जना मात्र भएकाले के के विषयमा कुराकानी भए भन्ने स्पष्ट छैन ।’
पूर्वराष्ट्रपति भण्डारी सदस्यता नवीकरण नगरेपछि अध्यक्ष ओलीसँग विगत एक डेढ वर्षयता असन्तुष्ट छिन् । गत फागुनमा भएको निर्वाचनमा एमालेको नतिजा अत्यन्त कमजोर आएपछि अध्यक्ष ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने र त्यसका लागि विशेष महाधिवेशन बोलाउनुपर्ने आवाज उठ्दै आएको छ ।
तर ओली सहजै नेतृत्व हस्तान्तरण गर्ने मनस्थितिमा छैनन् । दुई नेताका बिचमा एमालेमा भइरहेका पछिल्लो भेला तथा नेताहरूका अभियानको बारेमा पनि कुराकानी भएको हुनसक्ने बताइएको छ ।