काठमाण्डू, २७ वैशाख– पूर्व मन्त्री एवं एमाले नेता ईश्वर पोखरेलले ज्येष्ठ नागरिकका ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न चुनौती रहेको बताएका छन । आज (आइतबार) मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘ज्येष्ठ नागरिकको ज्ञान र सीप हस्तान्तरण’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको समापन कार्यक्रममा बोल्दै एमाले नेता पोखरेलले यस्तो बताएका हुन ।
उनले बदलिँदो समयमा नयाँ पुस्तामा ज्ञान हस्तान्तरण गर्नु सबैभन्दा ठूलो चुनौती रहेको बताउँदै उनले ज्येष्ठ नागरिकको सम्मान र संरक्षण गर्ने दायित्व सबै पक्षको भएको पनि बताएका छन । उनले भने, ‘ज्येष्ठ नागरिकहरू समाजका सम्पत्ति हुन, ज्ञानका स्रोत हुन् । ज्येष्ठ नागरिकहरूलाई यो परिवर्तित समाजमा जुन स्थिति झेल्नुपर्दैछ, त्यो बदल्नुपर्छ ।
ज्येष्ठ नागरिक भनेको समाजका ज्ञानको स्रोत र सम्पती हुन । उनीहरूको सम्मान र संरक्षण गर्नुपर्छ ।’ पूराना पुस्ताका ज्ञान र विचारलाई नयाँ पुस्तामा लैजान प्रतिष्ठानले कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ । संघीय सरकार, स्थानीय तह तथा विभिन्न संघ–संस्थासँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिएका छन ।
उनका अनुसार प्रतिष्ठानले व्यवसायिक तथा प्राविधिक शिक्षाको प्रवर्द्धनसँगै ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा र ज्येष्ठ नागरिक केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्नेछ ।
नेता पोखरेलले मनमोहन स्मृति प्रतिष्ठानलाई प्रदेश र जिल्लास्तरमा पनि गठन गर्ने जानकारी पनि दिए । उनले प्रतिष्ठानलाई व्यवस्थित र प्रभावकारी बनाउँदै लोकतान्त्रिक तथा वामपन्थी आन्दोलनमा योगदान पुर्याएका व्यक्तित्वहरूको विचार र योगदानलाई नयाँ पुस्तासँग लैजाने बताए ।