काठमाण्डू, २७ वैशाख– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताले अवस्था बदल्ने तागत आफूहरूलाई दिएको बताएका छन ।
आज (आइतबार) सांसदहरूलाई प्रशिक्षणका क्रममा सभापति लामिछानेले पार्टीमा योगदानको मूल्य माग्न ढोका ढकढक्याउने गरेको भन्दै त्यसमा आफूलाई दुःख लागेको पनि बताएका छन ।
उनले भने, ‘यो पार्टीमा योगदानको मूल्य माग्ने बेला मेरो पनि भएको छैन । मैले पनि मूल्य माग्नेगरी योगदान दिएको छैन । योगदान त अब दिने हो ।’ उनले मन्त्री बन्न नपाएकोमा दुःख मान्नुपर्ने बेला नभएको पनि बताएका छन ।
उनले भने, ‘हामी यति धेरै जितेर आयौँ । सबै मन्त्री हुन सकेनौँ । कतै न कतै दुःख त छ, साथीहरूलाई । समिति सभापति बनाएन भनेर मनमा घाउ चोट त राख्नुभएको छ, ‘सांसदका रूपमा हामीले यो देशको इतिहासलाई दिन सक्ने योगदान एकपटक हेर्नुभयो भने मन्त्री कुनै मन्त्री, पार्टीको सभापतिले भन्दा धेरै छ ।’
उनले आफूले के गर्न सकिन्छ भन्ने पाना पल्टाएर हेर्न आग्रह गरे । सांसदका रुपमा कानुन निर्माणमा काम गर्नुपर्ने बताए । मन्त्री भएर सामाजिक प्रतिष्ठालाई मात्रै सूचक बनाउनु गलत भएको पनि बताएका छन ।