बजेटमार्फत अर्थतन्त्रको जहाज मोड्ने तयारीमा छुः वाग्ले

काठमाण्डु टुडे २०८३ वैशाख २६ गते १२:४९ मा प्रकाशित

काठमाण्डू, २६ वैशाख– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार उद्योगी व्यवसायीलाई धरपकड गर्ने पक्षमा नरहेको दाबी गरेका छन् ।
शुक्रबार साँझ राजधानीमा आयोजित एक कार्यक्रममा उनले हल्लाको पछि नलाग्न निजी क्षेत्रलाई आग्रह गरे । उनले निजी क्षेत्रलाई सरकारले साझेदारको व्यवहार गर्ने बताए । ‘निजी क्षेत्रका व्यवसायीलाई थुन्ने/धरपकड गर्ने कुनै सूची सरकारले बनाएको छैन’, उनले भने, ‘तपाईंहरू हल्लाको पछि नलाग्नुस् ।’
वाग्लेले निजी क्षेत्रसँगको साझेदारीबिना सरकार एक्लैले १०० बिलियन डलरको अर्थतन्त्र बनाउने सरकारको लक्ष्य हासिल नहुने स्पष्ट गरे । सरकार सुशासन, अर्थतन्त्रको पुनरुत्थान, आन्तरिक र बाह्य कनेक्टीभिटी सामाजिक लगानी तथा पर्यटन, संसकृति र इतिहासमार्फत सौम्य शक्ति विस्तारको योजनासहित अघि बढेको दाबी उनको छ ।

उनले मुलुक अर्थतन्त्रको जहाज मोड्ने अवस्थामा रहेको बताए । त्यसका लागि आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटसम्म धैर्य गर्न उनको आग्रह थियो ।
राजनीतिक स्थायित्व र इमानका साथ मुलुकको नेतृत्व गर्दा आर्थिक विकास हुन सक्ने उदाहरण छिमेकी भारत रहेको वाग्लेले औंल्याए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us