काठमाण्डू, २५ वैशाख– प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)ले आफ्नो महाधिवेशन सन्तोष परियारको अध्यतामा गर्ने भएको छ । आज (शुक्रबार) बसेको पार्टी अध्यक्ष परिषद्को बैठकले वैशाख ११ र १२ गतेको केन्द्रीय कमिटीको विस्तारित बैठकले दिएको अधिकार बमोजिम अध्यक्ष परिषद्को कार्यविभाजन गर्दै आगामी महाधिवेशनको नेतृत्व गर्ने जिम्मा परियारलाई दिएको हो ।
त्यस्तै बैठकले एकता महाधिवेशनका लागि सचिवालय गठन गर्ने निर्णय पनि गरेको छ । सचिवालयमा अध्यक्ष परिषद्का सदस्यहरू, प्रदेश इन्चार्जहरू, विभागीय प्रमुख र पार्टी निर्माणमा सक्रिय भएकाहरू रहने प्रलोपाले जनाएको छ ।
प्रलोपाले महाधिवेशनका लागि वडा, पालिका र जिल्लाहरूमा एकता भेला गर्ने र कमिटी बनाउने निर्णय गरेको छ । त्यस्तै प्रलोपाका संरक्षक डा बाबुराम भट्टराईले कुनै पनि सांगठानिक जिम्मेवारीमा नरही आफू स्वतन्त्र रहेरै सहयोग गर्ने बताएकोले त्यसलाई स्वीकार गरी नयाँ यात्राको शुभकामना दिएको छ ।