काठमाण्डू, २५ वैशाख– सर्वोच्च अदालतले पूर्वनिर्धारित समयभन्दा झण्डै दुई घण्टा ढिलो दैनिक पेशी सूची सार्वजनिक गरेको छ । आज (शुक्रबार) बिहान बसेको फूलकोर्टका कारण दैनिक पेशी सूची सार्वजनिक हुन ढिलाइ भएको हो तर सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले भने ‘प्राविधिक कारण’ले पेशी सूची सार्वजनिक हुन ढिला भएको जानकारी दिए ।
आजको पेशी सूचीमा वरिष्ठताको क्रममा पहिलो नम्बरमा रहे पनि प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा नपरेकी सपना प्रधान मल्ल इजलाशमा बसेको देखिँदैन । प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज कुमार शर्मा पनि आजको इजलासमा देखिँदैनन् । उनी फुलकोर्टको बैठकमा सहभागी भएर आफ्नो संक्षिप्त भनाइ राख्दै बाहिरिएका थिए ।
‘आज मैले गोला तान्न नभ्याउने भएँ’ भन्दै बैठक कक्षबाट निस्किएको स्रोतले जानकारी दियो । संवैधानिक परिषदको विहीबारको बैठकले बरिष्ठता क्रमको चौथो नम्बरमा रहेका डा. मनोज कुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।
बैठकमा न्यायाधीशहरुले संवैधानिक परिषदको सिफारिसबारे आफ्ना धारणा राखेका छन् । स्रोतका अननुसार तीन जना न्यायाधीशबाहेक सबैजसोले परिषदको सिफासिरसले मुलुकको न्यायपालिकाको भलो नहुने र कालान्तरमा कार्यपालिकाको छायामा पर्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।
केही न्यायाधीशले भने तीन वर्ष पूरा गरेका न्यायाधीश प्रधानन्यायाधीशमा योग्य हुने संवैधानिक व्यवस्था रहेको र त्यस अनुसार भएको सिफारिसलाई अन्यथा भन्न नमिल्ने तर्क गरेका थिए ।