सुलभ अग्रवाल र दीपक भट्टलाई थप १२ दिन हिरासतमा राख्न अनुमति

काठमाण्डु टुडे २०८३ वैशाख २३ गते १५:०९ मा प्रकाशित

काठमाण्डू, २३ वैशाख– विशेष अदालत काठमाण्डूले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका व्यवसायीद्वय सुलभ अग्रवाल र दीपक भट्टलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

आज (बुधबार) विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अनुसन्धान कार्य नसकिएको भन्दै म्याद थपको आदेश दिएको हो । अदालतको आदेश अनुसार शङ्कर ग्रुपका सञ्चालक सुलभ अग्रवालको हकमा छैटौँ पटक र अर्का व्यवसायी दीपक भट्टको हकमा पाँचौँ पटक म्याद थप गरिएको हो ।

यो म्याद २०८३ साल वैशाख २३ गतेदेखि लागू हुने गरी प्रदान गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अग्रवाल र भट्टमाथि सम्पत्ति शुद्धीकरण तथा सम्बद्ध कसुरमा अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानकै क्रममा सरकारी वकिलको राय प्रतिवेदन तयार गर्ने र अभियोजनको कार्य बाँकी रहेको भन्दै विभागले थप समय माग गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us