देउवा दम्पतीविरुद्ध ‘रेड नोटिस’ प्रक्रियामा इन्टरपोलले माग्यो थप कागजात

काठमाण्डु टुडे २०८३ वैशाख २३ गते १४:४३ मा प्रकाशित

काठमाण्डू, २३ वैशाख– पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारीका लागि इन्टरपोलले थप कागजातको माग गरेको छ ।

इन्टरपोलले थप कागजातको विवरण एनसीबी (नेसनल सेन्ट्रल ब्यूरो) काठमाण्डूसँग माग गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । गत २४ चैतमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा काठमाण्डू जिल्ला अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ पुर्जी जारी भएसँगै देउवा दम्पतीलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाएको थियो । देउवा दम्पतीविरुद्ध रेड नोटिसका लागि एनसीबी काठमाण्डू (नेसनल सेन्ट्रल ब्युरो)ले औपचारिक रूपमा इन्टरपोललाई पत्राचार गरेको थियो । तर इन्टरपोलले भने कागजात नपुगेको भन्दै रेड नोटिस जारी गरेको छैन । पक्राउ पुर्जी जारी हुँदा देउवा दम्पती भने विदेशमा छन् ।

चुनावको पूर्वसन्ध्यामा १४ फागुनमा देउवा दम्पती उपचारका लागि भन्दै सिंगापुर उडेका थिए । त्यहाँबाट उनीहरू ७ चैतमा हङकङ गएको बताइएको छ । यसअघि पनि जेनजी आन्दोलनपछि उपचारका लागि भन्दै देउवा दम्पती सिंगापुर गएका थिए ।

त्यतिबेला भने उपचार गरेर उनीहरू फर्केका थिए । अहिले भने १४ फागुनमा देश छाडेका उनीहरू अहिलेसम्म नेपाल फर्केका छैनन् । स्रोतका अनुसार उनीहरू अहिले पनि हङकङमै रहेको बताइन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us