गगन थापा र शेखर कोइरालाबीच एक घण्टा छलफल

काठमाण्डु टुडे २०८३ वैशाख २२ गते १६:१८ मा प्रकाशित

काठमाण्डू, २२ वैशाख– कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतबाट निरूपण भएपछि पहिलोपटक दुई नेताबीच भेटवार्ता भएको हो ।

उनीहरूबीच विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा एक घण्टा छलफल भएको स्रोतले जानकारी दिएको छ । कोइरालाको सचिवालयले भेटवार्ताको पुष्टि गरे पनि छलफलको विषय खुलेको छैन ।

सभापति थापाले मंगलबार नै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग छलफल गर्ने तय भएको छ । कांग्रेसका एक पदाधिकारीका अनुसार सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले नेता खड्कासँग छलफल गर्ने छन् ।

यसअघि सभापति थापाले ६ वैशाखमा निवर्तमान सभापति खड्कासँग भेटवार्ता गरेका थिए । ४ वैशाखमा सर्वोच्च अदालतले पार्टीको आधिकारिकता दाबी गर्दै खड्काले दायर गरेको रिट खारेज गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us