सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

काठमाण्डु टुडे २०८३ वैशाख २२ गते १५:४३ मा प्रकाशित

काठमाण्डू, २२ वैशाख– सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । बागमती नगरपालिका–२ स्थित धरहरा चौकमा नयाँ रोड–बरहथवा सडक खण्डमा सोमबार साँझ भएको दुर्घटनामा स्थानीय अन्दाजी ७५ वर्षीय हरिबहादुर अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम डिएसपी सरोज राईका अनुसार नयाँ रोडबाट बरहथवातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बीआर ३३ बीएफ ७८२१ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका अधिकारीलाई करिब साँझ ६ बजे ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीरगन्ज लगिएकोमा पछि बारा स्थित एलएस न्युरो अस्पताल पुर्‍याइएको थियो ।

त्यहाँ चिकित्सकले साँझ ७ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनापछि मोटरसाइकल प्रहरी चौकी ढुङ्ग्रेखोलाको नियन्त्रणमा रहेको छ भने चालक गोडैता नगरपालिका–२ का अन्दाजी २० वर्षीय शिवम कुशवाहालाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us