काठमाण्डू, २० वैशाख– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न अनुरोघ गरेका छन ।
आज (आइतबार) निजी क्षेत्रका प्रतिनिधिहरूसँगको भेटमा उनले सरकारको उद्देश्य निजी क्षेत्रलाई हतोत्साही बनाउने नभई नीति सुधार गर्ने रहेको पनि उनले बताएका छन । उनले सरकारको सुशासन अभियानमा साथ दिन उद्योगी व्यवसायीहरूलाई अनुरोध समेत गरेका छन । उनले सरकार उद्योगी व्यवसायीहरूसँग सहकार्य गरेर नै अगाडि बढ्न चाहेको पनि बताएका छन ।
तर अर्थतन्त्रलाई कमजोर बनाउने गतिविधिहरूमा राज्यले कडाइका साथ निगरानी राख्ने पनि उनले बताए । विगतमा राजनीतिक अस्थिरता र परिवेशका कारण व्यवसायीहरू विभिन्न शक्तिकेन्द्रको दबाबमा परेका घटनाहरूलाई सरकारले राम्रोसँग बुझेको उनले बताएका छन । उनले अब अवस्था नदोहोरिनेमा ढुक्क हुन आग्रह गरे। सरकार सरकारले उधोगी व्यवसायीलाई नीतिले नै सुरक्षा दिने पनि उनले बताए । उनले भने, ‘तपाईंहरूको मनोबल अलिकति के भएको हो ?
कस्तो भएको हो, अलिकति डर त्रास देखिएको भन्ने सुनेको कारणले तपाईंहरूसँग बसेर छलफल गर्न खोजेको हो । तपाईंहरू अलिकति पनि चिन्ता मान्न पर्दैन । यो सुशासनको एजेन्डालाई अलिकति द्रुत गतिमा अगाडि बढाउनका लागि केही प्रश्नहरू तपाईंसम्म आइपुगेछ भने त्यसलाई यहाँहरूले सहज रूपमा लिइदिनुहोला । तर हामी मिलेर नै काम गर्ने हो ।
सरकारको कुनै व्यवसायीलाई हतोत्साही बनाएर, उसको व्यवसायलाई धराशायी बनाएर जाने कुनै पनि उद्देश्य छैन ।’ उनले अगाडि भने, ‘कुनै पनि किसिमको डर कायम राख्न जरुरी छैन ।
तर कतिपय स्टेपहरू यसरी चालिएको छ, यो इकोनोमीलाई नै कोल्याप्स पार्नेगरी संस्थाहरूलाई क्याप्चर गरेर हरेक ठाउँमा भएका विभिन्न गतिविधिलाई राज्यले निर्ममतापूर्वक हेर्नै पर्ला नि त्यो नगरी तपाईहरु कसरी सुरक्षित हुनुहुन्छ, अर्थतन्त्र कसरी सुरक्षित हुन्छरु कहिलेकाहीँ परिस्थितिले, कानुनले, अप्ठ्याराहरूले, राजनीतिक परिवेश र अस्थिर राजनीतिको सिकार बनेर तपाईंहरू बाध्य भएर कयौँ राजनीतिक दलका नेताको ढोका ढक्ढक्याउन बाध्य हुनुभएको छ ।
उनीहरूको स्वार्थ पूरा गरिदिँदा कहिलेकाहीँ तपाईहरूले मूल्य र मान्यताको सीमारेखाहरु पार गर्नुपरेको छ । त्यो हामीले बुझेका छौँ, बिर्सेका छैनौँ र बिर्सिदैनौँ पनि । अब तपाईहरू निर्धक्क हुनुहोला, चिन्ता गर्नुपर्ने आश्यकता छैन ।’ उनले वर्तमान सरकार चुनावमा आफूहरूले गरेको वाचापत्रको आधारमा नै सञ्चालन हुने बताए ।
जनताले वाचापत्र हेरेर नै भोट दिएको उल्लेख गर्दै उनले वाचापत्र भन्दा दायाँबायाँ नजाने दाबी गरे । उनले उद्योगी व्यवसायीलाई आफ्ना कमीकमजोरीलाई पनि मूल्याङ्कन गर्न आग्रह समेत गरेका छन ।
आन्तरिक लेखापरीक्षण गर्न सुझाव दिँदै उनले विगतका कमजोरी सच्याउने प्रक्रियामा राज्यसँग सहकार्य गर्न आग्रह गरे । नीतिगत सुधार, सुशासन र आर्थिक सुधार नै वर्तमान सरकारको मुख्य लक्ष्य रहेको उनको भनाए छ ।
उनले आर्थिक सुधारका लागि गरिने कानुन कार्यान्वयनका क्रममा आवश्यक सहयोग गर्न व्यवसायीहरू तयार हुनुपर्नेमा जोड दिए ।