काठमाण्डू, २० वैशाख– सर्वोच्च शिखर सगरमाथा आरोहणमा बाटो बनाउने क्रममा आइसफल डाक्टरले बेवारिसे शव भेटाएका छन । नेपाल पर्वतारोहण संघका अध्यक्ष फुरगेल्जे शेर्पाका अनुसार सगरमाथा आधार शिविरबाट क्याम्प १ मा जाने क्रममा खुम्बु आइसफल क्षेत्रमा एक बेवारिसे शव भेटिएको हो ।
हिउँले आधा पुरिएको अवस्थामा शव फेला परेको हो । मुख्य आरोहण मार्गमा भेटिएको उक्त शवले सुरक्षा र वातावरणीय समस्या निम्त्याएपछि सरोकारवालाले व्यवस्थापनका लागि पहल थालेका थिए । पर्यटन विभागले संघलाई शव संकलन गर्न अनुरोध गरे अनुसार व्यवस्थापन गरिएको अध्यक्ष शेर्पाले जानकारी दिएका छन ।
सोही अनुसार संघले सगरमाथा आधार शिविरमा रहेका सरोकारवाला निकाय र बाटो बनाउन खटिएका आइसफल डाक्टरले समन्वय गरी शव व्यवस्थापनको काम गरेको बताएको छ । अध्यक्ष शेर्पाका अनुसार २९ अप्रिलका दिन संघले सगरमाथा प्रदूषण नियन्त्रण समितिको सहयोगमा अनुभवी शेर्पा आरोही परिचालन गरी शव निकालेको थियो ।
उक्त शव १ मेका दिन आधार शिविरबाट हेलिकप्टर मार्फत लुक्ला ल्याइएको थियो । त्यसपछि शवलाई पोस्टमार्टम गर्न प्रहरीलाई हस्तान्तरण गरिएको थियो ।
शवलाई शनिबार बिहान काठमाण्डू ल्याई थप अनुसन्धान र पहिचानका लागि शिक्षण अस्पतालमा बुझाइएको छ । शवको सनाखत हुन बाँकी रहेको अध्यक्ष शेर्पाले जानकारी दिएका छन ।