यो सरकारले पनि प्रेस स्वतन्त्रता रक्षा गर्नेमा सशंकित छौंः अध्यक्ष शर्मा

काठमाण्डु टुडे २०८३ वैशाख २० गते १२:५२ मा प्रकाशित

काठमाण्डू, २० वैशाख– नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नेमा सशंकित रहेको बताएकी छन ।

आज (आइतबार) प्रेस स्वतन्त्र दिवसको अवसरमा शुभकामना संदेश जारी गर्दै अध्यक्ष शर्माले यस्तो बताएकी हुन । उनले पछिल्लो समय प्रेससँग सम्बन्धित घटना बढेको उल्लेख गर्दै यो सरकारले संविधानमा रहेको प्रेस स्वतन्त्रताको रक्षा गर्नेमा महासंघ सशंकित रहेको बताएकी हुन । ‘अहिले रास्वपाको नेतृत्वमा सरकार बनेको छ ।

यो सरकारले पनि संविधानमा भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, जनताको मौलिक हकको प्रत्याभूति र लोकतान्त्रिक संस्कृतिको सरक्षण गर्छ भन्नेमा महासंघ सशंकित छ‘, उनले भनेकी छन् । अध्यक्ष शर्माले हाल प्रेस स्वतन्त्रता पेचिलो बन्दै गएको बताउँदै मुलुकका विभिन्न पेसागत संगठन र नागरिक अगुवाहरूसँग अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि ऐक्यवद्धताको अपेक्षा रहेको बताइन् । महासंघ सञ्चार अनुगमन इकाका अनुसार ०८२ मा वर्ष १३१ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका छन् ।

गत वर्ष ७३ वटा यस्ता घटना भएका थिए । योभन्दा अघिल्लो वर्ष ६२ वटा थिए । तुलनात्मक पछिल्लो वर्ष यस्ता घटना बढेका छन् । यसका साथै पत्रकार तथा सञ्चार माध्यममा आक्रमणका ३० वटा घटना भएका छन् । पेशागत असुरक्षा १८ र कब्जा तथा अवरोधका २६ वटा घटना रहेका छन् । नीतिगत बन्देज ३ वटा, पत्रकार पक्राउ २ जना र १ जना पत्रकारको शंकास्पद मृत्यु भएको उनले उल्लेख गरिन् ।

जेनजी आन्दोलनका क्रममा सञ्चार माध्यम करोडौंको क्षति भएको र पाँच जना पत्रकार गोली लागेको उल्लेख गर्दै अध्यक्ष शर्माले प्रेस स्वतन्त्रता झन् पेचिलो बन्दै गएकोमा चिन्ता व्यक्त गरेकी छन् ।

पत्रकारविरुद्ध भएका अपराधमा दण्डहीनता, सञ्चारमाध्यमको आर्थिक अवस्थामा गिरावट, पत्रकारको पेसागत र भौतिक सुरक्षामा जोखिम जस्ता कारणले प्रेस स्वतन्त्रता झनै चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ छ ।

यसका साथै, सञ्चार क्षेत्रको आर्थिक संकट समाधान, पत्रकार पलायन, निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन तथा सूचनामा लगाइएको रोक, सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचनाको प्रतिरक्षा गर्नु चुनौती रहेको उनले उल्लेख गरिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us