रोल्पा जिप दुर्घटनाको तीन दिनपछि रास्वपाले निकाल्यो विज्ञप्ति

काठमाण्डु टुडे २०८३ वैशाख १९ गते १४:०४ मा प्रकाशित

काठमाण्डू, १९ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रोल्पाको जलजलामा तीर्थयात्री सवार जीप दुर्घटनामा २० जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
प्रवक्ता मनिष झाले शनिबार विज्ञप्ति जारी घटनाप्रति दुःख व्यक्त गरेका हुन् । झाले पार्टीका तर्फबाट घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे ।
रूकुम पूर्वबाट तीर्थालु लिएर आएको लु१ज ४१६७ नम्बरको जीप थवाङ गाउँपालिका–१ स्थित जलजला क्षेत्रमा बिहीबार भीरबाट खसेर दुर्घटनाग्रस्त भएको थियो । झाले देशको सडक सुरक्षाको अवस्थाबारे गम्भीर प्रश्न उठेको भन्दै आगामी दिनमा त्यस्ता घटनाको पुनरावृत्ति हुन नदिन सडकके अवस्थामा सुधार, सडक अनुशासनको कडा कार्यान्वयन तथा आवश्यक पूर्वाधार विकासमा जोड दिइने प्रतिबद्धता जनाए ।
यस्ता दुर्घटना केवल तथ्यांक मात्र नभई नागरिकको जीवनसँग जोडिएका संवेदनशील विषय भएको विज्ञप्तिमा उल्लेख छ ।
उनले नागरिक सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै प्रभावकारी कदम चाल्नुपर्नेमा रास्वपा स्पष्ट रहेको बताए ।
रोल्पा दुर्घटनाबारे सरकार र रास्वपा नबोलेको भन्दै सामाजिक सञ्जालमा आलोचना हुन थालेपछि घटनाको तीन दिनपछि झाले विज्ञप्ति निकालेका हुन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us