फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

काठमाण्डु टुडे २०८३ वैशाख १८ गते १७:०० मा प्रकाशित

काठमाण्डू, १८ वैशाख– पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर आज एक बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८ खपौदीस्थित फेवातालमा आज बिहान पौडी खेल्ने क्रममा खपौदी बस्ने १० वर्षीय आरेस लामाको डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल कालिका गण पोखराका गणपति सशस्त्र प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहले जानकारी दिएका छन ।

बालक तालमा डुबेर बेपत्ता भएको सूचनापछि कालिका गणबाट प्रहरी नायब निरीक्षक ताराचन्द्र शर्माको कमान्डमा सात जनाको गोताखोर सहितको टोली परिचालन गरिएको उनले जानकारी दिए । सो उद्धार टोलीले खोजीका क्रममा करिब १८ फिट गहिराइबाट बालकलाई अचेत अवस्थामा बाहिर निकालिएको थियो ।

उद्धारपछि बालकलाई तत्काल उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकामा दिउँसो करिब १२ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us