काठमाण्डू, ८ वैशाख– सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको थुनुवा कक्षबाट उद्धार गरिएका एक युवकको मृत्यु भएको छ । थुनुवा कक्षमा झुन्डिएको अवस्थामा फेला परेका सिन्धुलीको सुनकोशी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण बिकको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइएको थियो ।
थुनुवा कक्षको भेन्टिलेसनमा आफैं लगाएको सर्टको पासो लगाएर झुन्डिएका बिकलाई तत्काल उद्धार गरी सुनकोशी सामुदायिक अस्पताल पुर्याइएको थियो । प्राथमिक उपचारपछि थप उपचारका लागि सिन्धुली अस्पताल पठाइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिएका छन ।
घटनाका बेला थुनुवा कक्षमा बिक एक्लै रहेका थिए । मृतक बिक काठमाण्डूमा सवारी चालकको रूपमा कार्यरत रहेका थिए । उनले खोटाङकी एक १६ वर्षीया युवतीसँग गत २८ चैतमा प्रेम विवाह गरेका थिए । विवाहपछि युवती नाबालिका रहेको दाबी गर्दै परिवारले जबरजस्ती करणीको आरोपमा ललितपुरको सातदोबाटो प्रहरीमा उजुरी दिएका थिए ।
ललितपुरको सातदोबाटो प्रहरीले थप अनुसंधानका लागि ३ वैशाखमा उनलाई इलाका प्रहरी कार्यालय खुर्कोट पठाएको थियो । आत्महत्या पछि मृतकका आफन्त तथा स्थानीयवासी इलाका प्रहरी कार्यालय खुर्कोटमा भेला भएर घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न माग गरेका छन् ।
उनीहरूको माग अनुसार नै घटनाबारे थप अनुसंधानका लागि मृतकका आफन्त सहितको सहभागितामा सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी दीपेन्द्र पौडेलको संयोजकत्वमा प्रहरी प्रवक्ता, स्थानीय वडा अध्यक्ष लगायतको समिति बनेको जिल्ला प्रहरी प्रमुख सुवेदीले जानकारी दिएका छन ।
मृतकको शव हाल पोस्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ ।