काठमाण्डू, ८ वैशाख– जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) गौतम केसीमाथि छानबिन गर्न समिति गठन भएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयले एसपी केसीमाथि छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन गरिएको हो । एसएसपी कमल थापाको नेतृत्वमा समिति गठन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी (प्रहरी नायव महानिरीक्षक) अबि नारायण काफ्लेले जानकारी दिए । उक्त समितिले काम समेत सुरु गरेको छ ।
समितिले एसपीमाथि सोधपुछ सुरु गरेको छ । एसपी केसी र एक व्यक्ति बीचको फोन संवादको रेकर्ड बाहिरिएको थियो । जहाँ ती व्यक्तिले प्रहरीले उजुरी लिन नमानेको देखि उजुरी दिनका लागि प्रहरी कार्यालय भित्रै सहजीकरण गर्नुपर्नेमा नगरिएको गुनासो गरेको सुनिन्छ । यही विषयमा छानबिन गर्न समिति गठन गरिएको उनले जानकारी दिए ।