काठमाण्डू, ७ वैशाख– पूर्व मन्त्री एवं एमाले नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयहरूमा विद्यार्थी संगठनका गतिविधि र उपस्थितिमाथि रोक लगाउने निर्णयको कडा विरोध जनाएका छन ।
आज (सोमबार) सामाजिक सञ्जाल फेसबुकमार्फत एमाले नेता ज्ञवालीले आफ्नो धारणा सार्वजनिक गर्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अधिकार खोस्ने कदमलाई चरम अलोकतान्त्रिकको संज्ञा दिएका हुन् ।
विश्वविद्यालयभित्र सुरक्षा युनिट स्थापना गर्ने तयारीप्रति कडा आपत्ति जनाउँदै नेता ज्ञवालीले यसलाई प्राज्ञिक स्वायत्ततामाथिको ठाडो हस्तक्षेप भएको बताएका छन । उनले पञ्चायती निरंकुशतामा समेत सरकारले गर्न नसकेको यस्तो धृष्टतापूर्ण निर्णयमा विश्वविद्यालयका उपकुलपतिहरूले कसरी हस्ताक्षर गर्न सके भनेर प्रश्नसमेत उठाएका छन् ।
उनले लेखेका छन, ‘संवाद र रूपान्तरण आवश्यक, निषेध होइन’ नेता ज्ञवालीले विद्यार्थी आन्दोलनभित्र कतिपय कमजोरी र समस्याहरू रहेको यथार्थलाई भने स्वीकार गरेका छन्। विद्यार्थी आन्दोलन आम विद्यार्थीको हित, शैक्षिक गुणस्तर वृद्धि र स्वस्थ वातावरण निर्माणमा ‘क्याटालिस्ट’ बन्नुपर्नेमा बेलाबेला मूल मुद्दाबाट बरालिएको उनको भनाइ छ ।
तर, कमजोरी देखाएर विद्यार्थी संगठनलाई नै निषेध गर्नु समस्याको समाधान नभएको उनले प्रस्ट पारेका छन्। ‘समाधान त उनीहरूसँग संवाद, रचनात्मक सहकार्य र गुणस्तरीय शिक्षाका लागि विद्यार्थी आन्दोलनको रूपान्तरण हो ।’