गृहमन्त्री गुरुङमाथि लागेका आरोपको छानबिन गर्न कांग्रेसको माग

काठमाण्डु टुडे २०८३ वैशाख ७ गते १३:३५ मा प्रकाशित

काठमाण्डू, ७ वैशाख– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन प्रारम्भ गर्न सरकारसँग माग गरेको छ ।

आज (सोमबार) कांग्रेसले प्रेस विज्ञप्ति जारी गरेर गृहमन्त्री गुरूङमाथि लागेका आरोपहरूको ढाकछोप गरिए जनविश्वासमाथि गम्भीर आघात पुग्ने तर्क गरेको छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेद्धारा जारी गरीएको विज्ञप्तिमा भनिएको छ, ‘गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गरियोस्, ‘यस विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पुर्‍याउने छ ।’

पारदर्शिता र जवाफदेहिता लोकतन्त्रका आधारभूत स्तम्भ भएकाले प्रश्नहरूको विश्वसनीय, निष्पक्ष र तथ्यमा आधारित छानबिन अपरिहार्य रहेको कांग्रेसको धारणा छ । कांग्रेस केन्द्रीय कार्यसमितिको अघिल्लो बैठकले मन्त्रीहरूको सम्पत्तिको स्रोत सम्बन्धमा सार्वजनिक रूपमा उठेका प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने निर्णय गरेको थियो ।

गृहमन्त्री गुरूङसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासोमात्र नभएर राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको कांग्रेसले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us