शेखर समूहको निष्कर्षः पार्टी एकता कायम राख्न सभापतिको जिम्मेवारी बढी रहन्छ

काठमाण्डु टुडे २०८३ वैशाख ६ गते १५:०२ मा प्रकाशित

काठमाण्डू, ६ वैशाख– कांग्रेसका नेता डा. शेखर कोइराला समूह भेलाले सर्वोच्च अदालतको हालैको निर्णयलाई स्वीकार गर्दै पार्टी सुदृढीकरणमा जोड दिने निष्कर्षमा पुगेको छ ।

आज (आइतबार) कोइरालाको सचिवालय विशालनगरमा बसेको भेलाले विशेष महाधिवेशनबारे सर्वोच्च अदालतको फैसला आइसकेपछि पार्टीभित्र एकता कायम राख्न सबैको भूमिका हुने भए पनि सभापति गगनकुमार थापाको जिम्मेवारी बढी रहने निष्कर्ष निकालेको नेता कोइरालाको सचिवालयले जानकारी दिएको छ ।

भेलापछि पूर्वसहमहामन्त्री जीवन परियारले भने, ‘हामी सबैलाई विदितै छ, ‘विशेष महाधिवेशनका बारेमा पार्टीमा विभिन्न दृष्टिकोण रहिआएको भएतापनि त्यसबेला हामीले मतैक्यता गराउने भरमग्दुर प्रयत्न गरिरह्यौँँ । अब विशेष महाधिवेशन बारे सम्मानीत सर्वोच्च अदालतको फैसला आईसकेपछि नयाँ परिस्थिति उत्पन्न भएको छ ।’

उनले न्यायपालिकाप्रति विश्वास र निष्ठा कायमै रहे‍को पनि बताएका छन । उनले भने, ‘यस परिस्थितिमा अदालतको फैसला स्वीकार गर्दै, पार्टीलाई थप एकताबद्ध बनाउने हामी सबैको कर्तव्य हो ।

पार्टीको स्थापनाकालदेखि र प्रतिबन्धित अवस्थामा समेत स्वतन्त्र न्यायपालिकाप्रति विश्वास, निष्ठा र सम्मान रहँदै आएको व्यहोरा जगजाहेर नै छ, वर्तमान अवस्थामा नेपाली कांग्रेसभित्र वृहत्तर हित, एकता र सुदृढ संगठन निर्माण गर्नु हामी सबैको साझा जिम्मेवारी हो ।

तथापि पार्टी केन्द्रीय कार्यसमिति एवं सभापतिको अझ बढीनै जिम्मेवारी रहन्छ । यस कठिन परिस्थितिमा पार्टीका आगामी चुनौतीलाई सामना गर्न हामी सबै आ–आफ्नो ठाउँबाट जिम्मेवार र प्रतिबद्ध रहन समेत पार्टीका सम्पूर्ण साथीहरुलाई आग्रह गर्दछ ।’

शुक्रबार सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा बनेको कार्यसमितिलाई आधिकारिकता दिएसँगै कोइराला समूहले आज छलफल गरेको थियो । यसअघि कोइराला समूह शेरबहादुर देउवा समूहसँग छलफल गर्दै आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us