काठमाडौं, वैशाख ५ — नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पार्टीको वैधानिकतासम्बन्धी सर्वोच्च अदालत को निर्णय स्वीकार गर्ने निष्कर्ष निकालेको छ ।
शनिबार गोल्फुटारस्थित पूर्णबहादुर खड्का को निवासमा बसेको छलफलमा देउवा पक्ष नेताहरूले अदालतको फैसलामा केही असन्तुष्टि भए पनि त्यसलाई मान्ने सहमति गरेका हुन् ।
बैठकपछि नेता मीन विश्वकर्माले फैसलाका केही आधारहरू विवादास्पद र विरोधाभासपूर्ण देखिए पनि विधिको शासन र संस्थागत अभ्यासलाई ध्यानमा राख्दै स्वीकार गर्ने निर्णय गरिएको बताए ।
उनका अनुसार नेपाली कांग्रेस ले सधैं स्वतन्त्र न्यायपालिकाको सम्मान गर्दै आएको परम्परालाई निरन्तरता दिँदै यस्तो निष्कर्षमा पुगेको हो ।
छलफल अनौपचारिक भए पनि नेताहरूले आ–आफ्नो धारणा राखेका थिए । पार्टीलाई आगामी दिनमा कसरी एकताबद्ध बनाउने भन्ने विषयमा पनि छलफल भएको र यसका लागि थप बैठकहरू बस्ने जनाइएको छ ।
यसअघि शुक्रबार सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै देउवा पक्षले दायर गरेको रिट खारेज गरेको थियो ।
देउवा पक्षले आइतबार पनि यस विषयमा अनौपचारिक छलफललाई निरन्तरता दिने जनाएको छ।